सुरक्षा निकाय रात दिन खट्ने, कर्मचारी चाहिँ घरै !

सुरक्षा निकाय रात दिन खट्ने, कर्मचारी चाहिँ घरै !

विश्वलाई अहिले कोभिड-१९ को महामारीले आक्रान्त पारेको छ। महाशक्ति राष्ट्रदेखि अति कम विकसित देशहरु समेत यस महामारीसँग जुधिरहेका छन् । महामारी फैलिसकेको अवस्थामा अहिले सम्पूर्ण राष्ट्रको ध्यान यस महामारीलाई नियन्त्रणमा राखि यस संक्रमणको जोखिमबाट कसरी उन्मुक्त गराउने भन्ने तर्फ नै केन्द्रित छ।

चीनबाट सुरु भएको यस रोग हाल उक्त देशमा नियन्त्रणमा रहेको भनिएको छ भने सम्पन्न राष्ट्रहरुको सूचीमा पर्ने अमेरिका, इटाली, स्पेन आदि देशमा यसको संक्रमण महामारीको रुपमा फैलिरहेको छ । कोरोना फैलिएका अधिकांश मुलुकहरुले लकडाउनमार्फत यस महामारीसंग जुध्ने प्रयास गरिरहेका छन् । कोरोना संक्रमण बिश्वका २०० भन्दा बढी देशमा फैलिसकेको अवस्थामा यो क्रम कुन बिन्दुमा गएर रोकिने हो सो को पूर्वानुमान गर्न कठिन रहेको भनी विज्ञहरु बताउँछन्।

विश्व अहिले समाजशास्त्रीय र आर्थिक दृष्टीकोणबाट हेर्ने हो भने लगभग बन्द अवस्थामा छ । कोरोनाबाट प्रभावित र अन्य मुलुकका मानिसहरु मनोबैज्ञानिक रुपमा त्रसित छन् । कोरोना भाईरसको उपचार र नियन्त्रणको लागि सयौँ बैज्ञानिकहरु क्रियाशील भइरहको देखिन्छ तथापी हालसम्म सफल उपचार विधिको पत्ता लागिसकेको छैन र तत्कालै नियन्त्रणमा आइहाल्ने सम्भावना समेत देखिदैन् । अति सम्पन्न राष्ट्रहरुले समेत ठूलै आर्थिक नोक्सानी व्यहोर्ने प्रक्षेपणका बीच हाम्रो जस्तो विप्रेषणमुखी र आयातमुखी आर्थिक संरचना भएको देशमा यसले अझ बढी असर पार्ने निश्चित छ।

नेपालले वर्षेनी विभिन्न किसिमको विपद, प्रकोपको सामाना गरिरहेको हुन्छ । सोको कारण वर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । हामीले केही वर्ष पहिले मात्रै भुकम्म जस्तो महाविपद्को सामाना पनि गर्यौ । उक्त महाभुकम्पले थलिएको देश पुन अगाडि बढ्दै गर्दा यस महामारीले निश्चय नै पछिसम्म प्रभाव पर्ने जाने देखिन्छ । २०७२ सालमा गएको भुकम्प पश्चातको पुनःनिर्माणको कार्य अझै सकिएको छैन् । भुकम्पीय जोखिमले नेपाल अति सम्वेदनशिल छ भन्ने जान्दा जान्दै पूर्व तयारीको अभावमा भुकम्प गईसकेपछि त्यसको सामना कसरी गर्ने भन्ने अन्यौलता तत्कालिन अवस्थामा समेत रहेको थियो ।

हामीले देखे भोगेका यी र यस्तै विपदहरुबाट थुप्रै पाठ सिक्नुपर्ने आवश्यकता छ। विपदको समयमा यी र यस्ता विषय बहसमा आउँछन् । तर विपदको असर कम भएपश्चात विपदको सामाना गर्नुपर्ने पूर्व तयारीका विषय सधै छायाँमा पर्दै जाने तथ्य हाम्रो परिप्रेक्षमा सामान्य रहेको छ। विश्वको इतिहासले के देखाउँछ भने सय बर्षको अन्तरालमा नयाँ अन्य किसिमका महामारी आइरहेको देखिन्छ । भविष्यमा समेत यस प्रकारका विश्वव्यापी महामारी आउन सक्ने सम्भावना रहेकोले बिपद तथा प्रकोप नियन्त्रणको लागि अब उपचारात्मक बिधि भन्दा पूर्व तयारी तथा पूर्व रोकथाम गर्ने विधि तर्फ ध्यान पुर्या¥उनु पर्ने देखिन्छ ।

यस प्रकारका प्रकोप, महामारी, विपदसंग जुध्दै नेपाललाई समृद्ध बनाउनेतर्फ अगाडि बढाउन ठोस कदम सहितको राज्य प्रणालीमा सुधार गर्दै जानुपर्ने देखिन्छ । हामीले हालसम्म जुन प्रणालीको विकास गरेका छौ यो चुस्त दुरुस्त छैन भन्ने हामी सबैले महसुस गरेको विषय नै हो । जुनसुकै महामारी, विपद होस् या प्रकोप सुरक्षा निकायले अहंम भूमिका निर्वाह गर्दै आएका छन् । सुरक्षा निकाय बाहेकका अन्य सरकारी निकाय यस्तो प्रकोपको घडीमा चुस्त दुरुस्त हुन नसकेको यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ ।

निजामति सेवा जसलाई स्थायी सरकारको रुपमा लिईन्छ, यस्तो सेवालाई प्रकोपको समयमा कसरी परिचालन तथा व्यवस्थापन गर्ने विषयमा स्पष्ट हुनुपर्ने देखिन्छ। विपत् आएपश्चात मात्र तात्ने हाम्रो संस्कारमा परिवर्तन गर्नुपर्ने देखिन्छ । कोरोना प्रकोपको घडीमा सरकारले नै अहिले प्रायस् निजामती कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ भने अर्को तर्फ जनताहरु राज्यको उपस्थिति बोध गर्न नसकिएको गुनासो गरिरहेका छन् । राज्य भनेको प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी मात्रै कदापी होइनन् । माथिल्लो तहले नीति, निर्देशन तथा दिशानिर्देश मात्रै गर्ने हो । त्यसलाई कार्यान्वयन तहमा लैजान सबै कर्मचारीहरुको यथोचित परिचालन र व्यवस्थापन आवश्यकता रहन्छ । हो, अहिले यस प्रकोपको घडीमा जति सक्दो धेरै मान्छे घर भित्र बस्यो त्यति राम्रो हो तर जनताले सरकारको उपस्थिति खोजिरहेका अवस्थामा सरकारको प्रतिनिधिको रुपमा रहेका निजामती कर्मचारीहरुलार्इ राज्यले परिचालन गर्नै पदर्छ । सुरक्षा निकाय रात दिन खट्न सक्ने, निजामती कर्मचारी खट्न नसक्ने भन्ने प्रश्न नै आउँदैन । उचित सुरक्षा विधि अपनाएर राज्यले जनाताको करबाट तलब भत्ता बुझ्ने सम्पूर्ण निजामति कर्मचारीलाई राहत वितरणदेखि आवश्यक अन्य सम्पूर्ण कार्यमा खटाउनु पर्दछ । अहिले विभिन्न व्यक्ति, संस्थाहरुले गरिब निमुखा जनतालाई राहत दिईरहेको अवस्थामा निजामति कर्मचारीहरुलाई घरमा बस्न अनुमति प्रदान गरेर तलब चाहीँ खुवाईराख्नु कदापी न्याय संगत हुँदैन ।

निजामती कर्मचारीलाई जुनसुकै प्रतिकूलतामा पनि, जुनसुकै समयमा पनि परिचालित हुने गरी तयार अवस्थामा राख्ने गरी मन्त्रीपरिषदबाट निर्णय भएको छ तर कहिलेसम्म यसरी बस्ने र बस्नपर्ने हो कसैलाई थाहा छैन । सार्वजनिक निकायमा कार्यरत हरेक कर्मचारीले आफूलाई बिना बर्दीको सिपाहिको रुपमा लिई राज्यले अर्हाएको कार्य सरकारको प्रतिनिधिको रुपमा खटिई कार्य गर्नु पर्दछ । निजामती कर्मचारीको चौविसै घण्टा नेपाल सरकारको हुनेछ भनेर स्पष्ट रुपमा निजामती सेवा ऐनमा उल्लेख भए अनुसार यस प्रकोपको घडीमा कर्मचारीलाई परिचालित गर्न सकिएको भए जनताले सरकारको अनुभुति गर्न पाउथे होला ।

जतिसुकै राम्रा नीति नियम भए पनि प्रभावकारी रुपमा समन्वयात्मक हिसाबले कार्यान्वयन गर्ने संयन्त्र नभएमा नीतिको ‌औचित्य समाप्त हुन जान्छ । आज सुरक्षा निकायले कुशलतापूर्वक काम गरेको किन देखिन्छ भने उक्त निकायहरुमा हरेक निर्णय कार्यान्वयन गर्ने केन्द्रदेखि स्थानीय तहसम्म संस्थागत संरचना छ।

निजामती सेवामा विभिन्न सेवा समूह रहेको छ। ती सेवा समूहमा कार्यरत हरेक व्यक्तिमा विविध दक्षता र क्षमता रहेको छ । उनीहरुमा रहेको विज्ञतालार्इ आवश्यक परेको समयमा उपयोग गर्न सक्नुपर्दछ । उदाहरणको लागि सार्वजनिक खरिद कार्यमा अनुभव भएका थुप्रै सरकारी निकाय छन्, त्यस्तो कार्यमा उनीहरुको सहयोग लिन सकिन्छ । क्वारीन्टिन, आईसोलेसन कक्ष निर्माणमा प्राविधिक जनशक्तिहरुलाई परिचालन गर्न सकिन्छ । राहत व्यवस्थापन लगायतका कार्यहरुमा प्रशासन क्षेत्रका कर्मचारीलाई परिचालन गर्न सकिन्छ । सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुको तह पद अनुसार सेवा सुविधा उही हो तर कोही रातदिन खट्नु पर्ने कोही भने सुपरिवेक्षकको सम्पर्कमा बसे पुग्ने । करबाट वतन बुझ्ने हरेकलाई कोरोनाको प्रकोप रोकथाम र नियन्त्रणका लागि सुरक्षा सामाग्री सहित परिचालन गर्न जरुरी छ ।

लकडाउनमा जनतालार्इ घर भित्र बस्ने वातावरण मिलाइ सरकार सधै पहरेदार रुपमा खट्नु पर्ने हुन्छ। केन्द्रमा केही उच्च पदस्थ कर्मचारी तथा जिल्लमा सिडिओ तथा सुरक्षा निकायले मात्र सम्पुर्ण राज्यको उपस्थिति बोध गराउन कठिन छ । जनतालाई घर तथा टोल टोलमा दैनिक उपभोग्य सामाग्रीहरुको उचित व्यवस्थापन गर्न, उनीहरुलाई भोकै र खुल्ला आकाश मुनि बस्ने अवस्था सृजना हुन नदिन सम्पुर्ण निजामति कर्मचारीहरुलाई तत्काल परिचालन गर्नु पर्दछ । अहिले राज्यको तहबाट जनतालाई राहत प्रदान गर्न तत्काल धेरै कार्यहरु गर्नुपर्ने छन्, ती कुराहरुको व्यवस्थापन गर्न सम्पूर्ण तह र तप्काका कर्मचारी परिचालनबाट मात्र संभव छ जसमा सरकारको सफलता जोडिएको हुन्छ। सरकारले सार्वजनिक संस्थाहरुको परिचालन मार्फत ठांउ ठांउमा सुपथ पसल खोल्न सक्छ, साथै आवश्यक परेको खण्डमा जनताको घर घरमा राहत लिएर कर्मचारी पठाउन सक्दछ । हालै मात्र उद्धोग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक सेवा प्रवाहका लागि अन लाइन सेवा शुरु गरिसकेको छ जुन निकै नै सर्हानिय कार्य हो ।यो विषम परिस्थिमा अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तु तथा सेवा प्रवाहका लागि खेलेको भूमिका तारिफ गर्न लायकको छ ।

जनताले सरकारसंग राखेको अपेक्षा परिपूर्तिको माध्यम भनेको सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रमा कार्यरत व्यक्तिहरुको समूह हो । हरेक घटनाबाट पाठ सिक्ने हो, राज्यले समेत यस प्रकोपबाट महत्वपूर्ण पाठ सिक्नु पर्दछ। नीजि क्षेत्र, नागरिक समाज सचेत, शिक्षित, जागरुक कर्मचारीहरुलाई अहिले परिचालन गर्दा धेरै विषय उनीहरुलाई सुझाई राख्नु समेत पर्दैन। तसर्थ राज्यले ढिलो नगरी उचित कार्य योजना बनाई कर्मचारी परिचालन गर्नु पर्दछ । राहत व्यवस्थापन, राहत वितरण, ढुवानी व्यवस्थापन, खाद्यान्न व्यवस्थापन, उपचार कक्ष निर्माण लगायतका सम्पुर्ण क्षेत्रमा कर्मचारीहरु खटाउन सकिन्छ तथा राज्यलाई आवश्यक परेको वेलामा कर्मचारीहरु खटिन समेत तम्तयार भै बसेका छन् र हुनुपर्दछ।

अबको समय कसैले जादुको छडिमा राज्य संरचनाका विकृति, कर्मचारी संरचनाका विकृति परिवर्तन गरिदेला भनेर प्रतिक्षा गरेर बस्ने समय होइन । परिवर्तनको सम्वाहक आफै बन्न सक्नु पर्दछ । वर्तमान सरकारले त्यसको नेतृत्व लिनुपर्दछ र लिन पनि सक्छ । यस विषम परिस्थितिमा हामी कर्मचारीहरु जिम्मेवार भइ स्वयं परिवर्तनको सम्वाहक बनि कार्य गर्न सकेमा आम जनताले सरकार र सार्वजनिक निकायमा कार्यरत कर्मचारीप्रति बनाएको नकरात्मक धारणामा परिवर्तन ल्याउन सकिन्छ । विपदको बेला कर्मचारी खटाउँदा उनीहरुमा जनताप्रतिको सेवा ‍भाव बढ्दै जाने तथा राज्यप्रति जनताको भरोसा समेत बढ्दै जाने देखिन्छ। सरकारले एउटा विषय विज्ञ संलग्न टिम गठन गरी कर्मचारीको विषयगत क्षेत्र पहिचान गरी सोहि अनुसार परिचालन गर्न सकेको खण्डमा यस प्रकोपको दुस्चक्रबाट बाहिर निस्कन सहज हुनेछ।

सरकारले आफ्नो प्रतिनिधि पात्र बनाएर कर्मचारीहरुलाई प्रोत्साहित गरेर परिचालन गर्न सक्नु पर्दछ । फेरी पनि उही पुरानो पारामा जय-जयकारमा रमाउने, चाकरी गर्ने, गराउने केही अन्धभक्ति कर्मचारीहरुको जमात सिंहदरवार वरिपरि सृजना गर्ने र उनीहरुकै सल्लाहमा चल्ने हो भने हामीले चाहेको राज्यको उपस्थिति तल्लो तहमा पुग्न सम्भव छैन । यो कठिन समयमा नै हो सरकार र सरकारी संयन्त्रको आवश्यकता । सरकारलाई जनताको सेवा गर्ने ऐतिहासिक पल मिलेको छ । यसको सही सदुपयोगका लागि सरकार, सरकारका प्रतिनिधि कर्मचारीहरुलाई जनताको सेवक बनाएर अव जनताको घर घर पुर्याउन जरुरी छ। कोरोनाको प्रकोपले सिकाएको पाठलाई समयमा नै सम्बोधन गर्न सकिएन भने पुनः परिवर्तन र समृद्धिका कुरा गफ मात्र सावित हुनेछन् ।

(लेखक उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपसचिव हुनुहुन्छ)