चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको दाबी गलत

चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको दाबी गलत

काठमाडौ । चीनको विदेशमन्त्रालयले चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको दाबी गलत भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनमाथि आरोप लगाउँदै फेरि यस्तो  दाबी गर्न थालेको विषयमा प्रतिक्रिया जनाउँदै चीनको विदेशमन्त्रालयले यस्तो जानकारी दिएको हो ।

विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार पत्रकारहरूसँगको कुराकानीमा भने “ मैले तपार्इँहरूको ध्यान विश्व स्वास्थ्य संगठनले पटक पटक प्रयोगशालामा यो नयाँ कोरोनाभाइरस तयार भएको कुनै प्रमाण फेला नपरेको भनाइ तर्फ  तान्न चाहन्छु । विश्वका धेरै ख्यातिप्राप्त चिकित्सा विज्ञहरूले पनि प्रयोगशालामा बनेको भाइर चुहिने विषय विज्ञानमा आधारित नभएको विश्वास गर्छन् ।”

फक्स न्युजको कोरोनाभाइरसको स्रोतसम्बन्धी समाचारबारे प्रतिक्रिया जनाउँदै झाओले यस्तो जवाफ दिएका हुन् । चीनको वुहानस्थित एक प्रयोगशालाबाट पहिलो पटक देखा परेको कोरोनाभाइरस फैलिएको समाचार फक्स न्युजले समाचार सार्वजनिक गरेपछि झाओको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।

अगुवा भायरोलजी अनुसन्धान केन्द्रहरू मध्येवुहानमा एक केन्द्र स्थापित छ । त्यही प्रयोगशालाबाट जैविक हतियारको रूपमा तयार गरिएको यो भाइरस फैलिएको विषयलाई केही पश्चिमा मिडिया र राजनीतिज्ञले उठाउँदै आएका छन् । चीनले यस्ता दाबीहरूलाई निरन्तर खण्डन गर्दै आएको छ ।

गत साता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोज अधानोम ग्रेब्रयससले कोरोनाभाइरसको विषयलाई राजनीतिकरण गर्न नहुने आग्रह गरेका थिए ।

महानिर्देशको यो आग्रहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रिसाएर अमेरिकाले यो संगठनलाई दिने गरेको सहयोग राशि कटौती गर्ने निर्देशन दिए ।

अमेरिकी अर्बपति तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलगायत विश्वभरका सरकार प्रमुख र संघसंस्था प्रमुखले ट्रम्पको कोष कटौतीको निर्णयको विरोध गरे । त्यस लगत्तै फेरि पश्चिमा  देशहरूले यो सवाल उठाउन थालेका हुन् ।