ग्रामीण क्षेत्रमा पनि सचेत छन् जनता, वाहिरबाट आएकाहरुले संक्रमण फैलाउने त्रास

ग्रामीण क्षेत्रमा पनि सचेत छन् जनता, वाहिरबाट आएकाहरुले संक्रमण फैलाउने त्रास

नबराज दाहाल 

४ वैशाख, सिन्धुली । कोरोनाभाइरसका कारण विश्वभरि नै कोलाहल मच्चिएको छ । नेपालमा फेरि अर्काे पटक लकडाउन थपिएको छ । हरेक व्यक्ति कोरोना भाइरसका बारेमा कुराकानी गरिरहेका छन् । शहरमा कोरोनाका कारण भय धेरै छ । ग्रामीण क्षेत्रमा यसलाई कसरी बुझेका छन् र यसप्रति जागरण कस्तो छ त ?  

यतिवेला हामी सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर १ को बंकामा छौं । यहाँका धेरैलाई यो विरामी ठूलो छ भन्ने कुरा राम्रैसँग थाहा छ । टेलिफोनका ब्याक रिंग, रेडियो, मान्छेहरुसँगका सम्पर्क र कुराकानीले यसबारेमा प्रायः सबैलाई नै थाहा छ । 

मान्छेसँग तीन फिटको दूरीमा रहने, भीडभाडमा नजाने र एकअर्कालाई छुँदा यो रोग सर्छ भन्ने कुरा हामीले जसजसलाई सोध्यौं ती सबैले बताए । 

यहाँका जनतामा मास्क अनिवार्य लगाउनु पर्छ भन्ने कुरालाई भने ध्यान दिएको देखिदैंन । जससँग छैन, तिनले लगाउने कुरै भएन, जोसँग छ तिनले पनि अनिवार्य लगाउँदैनन् । 

मास्क नहुने र सचेत किसानले खेतवारी र गाउँघरतिर हिंड्दा भौतिक दूरी कायम गर्ने र गम्छाको मास्क लगाउने गरेको पाइन्छ । 

पहिला चीनमा अनेक खालको मासु खाएर यो रोग आएको कतिपयमा भ्रम भए पनि अहिले त्यो देखिदैंन । 

धनुषा जिल्लाको वीरेन्द्र बजार, भिमानबाट हिंडेर सजिलै यो क्षेत्रमा आउने, यताबाट अन्यत्र जाने कारणले जनतामा भय छ । प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिले यथोचित पहल लिन नसक्दा पछि भयावह रुप लिन्छ कि भन्ने त्रास कतिपयमा छ । 

लुकीछिपी आफन्त आउँदा स्थानीय कतिपय परिवारले वाहिर शेयर गर्दैनन्, क्वोरण्टिनमा बस्ने व्यवस्था मिलाएका छैनन् भन्ने धेरैको प्रतिक्रिया रहेको छ । टाढाटाढा घर भएकाले सबैको बारेमा सबैले थाहा नपाउने भएकाले एकाधको लापर्वाहीले भारतसहित प्रभावित क्षेत्रका मान्छे लुकीछिपी आउँदा भयावह हुनसक्ने कारणले स्थानीय जनप्रतिनिधिको पहलमा स्थानीय युवाहरुलाई समेत आवश्यक परिचालन गरेर सतर्कता अपनाए हुने सुझाव धेरैको रहेको छ ।