वुहानमा मर्नेको संख्या ५० प्रतिशतले बढ्ने देखियो

वुहानमा मर्नेको संख्या ५० प्रतिशतले बढ्ने देखियो

काठमाडौ । कोरोनाभाइरस महामारी शून्यमा झरेको चिनियाँ शहर वुहानमा मर्नेको  संख्या बढ्ने भएको देखिएको छ । 

स्थानीय अधिकारीहरूका अनुसार मृत्युसम्बन्धी जानकारी रिपोर्टमा उल्लेख गराउन ढिला भएको वा छुट्न गएकाले नजोडिएको हो ।

शुक्रबार यसरी छुट भएको रिपोर्टलाई जोडेर नयाँ आँकडामा १२९० जना मृत्यु भएको र संक्रमित पुष्टि भएको संख्या ३२५ जोडिएको छ ।

यसरी वुहानको नयाँ संक्रमित संख्या ५०,३३३ र भाइरसबाट मर्नेको संख्या ३,८६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

रोयटर्सले जनाए अनुसार वुहानमा मृत्यु हुनेको संख्या ५० प्रतिशतले बढेको छ ।

सरकारी अधिकारीहरूले कोरोनाभाइरससम्बन्धी आँकडाको पुनरावलोकन गर्दा यसरी छुट आँकडा फेला परेको हो ।

शुरूको चरणमा महामारी फैलिँदा अपर्याप्त क्षमताका कारण बिरामी भर्ना र उपचारमा ठीक ठीक प्रणालीको ठेकान गर्न गाह्रो भएर रोग र रोकथामको विषयमा आँकडा दुरूस्त गर्न गाह्रो भएको वुहानका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

पुनरावलोकन गर्दा सही संख्या निर्धारण गरिएको हो ।

विश्वमा २१ लाख बढी मानिसमा कोरोना संक्रमित भएको र १ लाख ४५ हजारको मृत्यु भएको पाइएको छ ।

वुहानमा कोरोनाभाइरस पहिले फैलिएको थियो । अहिले त्यहाँ शून्यमा झरेका बेला विश्वभर यो फैलिएको हो ।