कोरोना र अनिकालको ढिकी

कोरोना र अनिकालको ढिकी

वसन्त पोखरेल

कोरोनाले मानिसलाई अनिकालको ढिकी बनायो । हुनत नयाँ पुस्तालाई कोरोना त थाहा छ, तर, अनिकाल के हो, बेसाहा के हो, ढिकी, जाँतो, (झाँतो, चाकी) के हो, कोल के हो थाहा नहुन सक्छ । देख्न पनि गुगलमा जानुपर्छ । अलिकति अनिकालतिर लागौँ । 

कथा हो । अनिकाल लाग्यो । बेसाहा खोज्न बोरा लिएर रामबहादुर निकै टाढाको गाउँमा गयो । तीन दिनमा एक बोरा चामल लिएर घरमा आइपुग्यो । पिँढीमा बेसाहा ल्याएको बोरा बिसायो र भित्र पस्यो । खाना नपाएर छोरी, श्रीमती बेहोस भएको पायो । गाग्री टिपेर पँधेरामा पानी लिन गयो । फर्केर आयो र भात पकाउन कसांैडी बसाल्यो । तर, बाहिर चामल लिन जाँदा बोरा नै गायब भएछ । तीन दिन लगाएर चर्को मूल्य तिरेर ल्याएको बेसाहाको बोरै गायव । नेपालका दूर दराजका गाउँमा अहिले पनि यस्ता घटना घट्दै आएका छन् । कोरोनाले पनि यस्तै अवस्था तुल्याइदिएको छ । 

ढिकीको मुख्य काम धान कुट्नु हो । तर, धानको खेती नभएकाहरुले पनि ढिकी लगाएका हुन्छन्, हुन्थे । ढिकी स्थायी रुपमा राख्ने ठाउँलाई ढिक्याड भनिन्छ । ढिकीले धानमात्र कुट्दैन । तोरी कुट्छ । च्युरा कुट्छ । जौ, गहुँको भुस, टुँडा निखार्छ । मुसल निकाल्यो भने मकै छोडाइदिन्छ । सिन्की बनाउने मुला ढिकीमै कुटिन्छ । फलामको साँबो नहालेको मुसलको प्रयोग गरेर च्युरा कुटिन्छ । कुनै पनि अनाजलाई ढिकीको माध्यमबाट टुक्र्याइन्छ । तर, अनाज नै छैन, प्रविधि फरक भयो भने त्यो बस्तुको काम हुँदैन । 

अल्छी, सुतुवा मानिसलाई कस्तो अनिकालको ढिकी बनेको हो भनेर उखान प्रयोग गरिन्छ । अनिकालमा अनाज हुँदैन । अनाज नभएपछि ढिकीको पनि काम हुँदैन । अहिले कोरोनाले नेपालका आम मानिसलाई अनिकालको ढिकी बनाएको छ । नेपालका मात्र हैन, विश्वका अधिकांश मुलुकले आफ्ना जनतालाई अनिकालको ढिकीमा परिणत गरेका छन् । उखान बाँकी छ । ढिकी देख्न गुगलमा जानुपर्छ । 

त्यस्तै चक्की शब्द अपभ्रंश भएर चाकी भएको हो । भेगअनुसार यसको अरु पनि नाम राखिएका होलान् । ढुंगाको भित्री भागमा दाँत निकालेर खप्टाएर अनाज, दलहन पिस्नको लागि बनाइने बस्तु हो चाकी । यसले मकै, गहँु, जौलगायतका अनाज, दलहन आदि आवश्यकताअनुसार मोटो, मसिनो पिस्न सकिन्छ । तर, यो पनि अब लोप हुने सुचीमा परिसकेको छ । 

कोल्हूका बैल भन्ने हिन्दी उखान छ । कोल त लगभग लोप नै भइसकेको छ । तर, उखान चल्दैछ । कोल शब्द संस्कृतको कोल्हूबाट अपभ्रंश भएर आएको हो । मोटो काठमा उत्तानो सोली आकारको प्वाल बनाएर पिँदमा सानो प्वाल पठाइन्छ जसमा तरल पदार्थमात्र छिर्न सक्छ । त्यो पदार्थलाई भाँडोमा जम्मा पारिन्छ । माथिबाट दवाव दिनको लागि काठकै वियो घुमाउनु पर्छ । त्यसलाई घुमाउन काठकै घुमौरो जोडिन्छ । मिलहरु नपुगेको अवस्थामा यसको निकै प्रयोग हुन्थ्यो । तोरी, च्युरी, फिलिंगे, अर्सी, उखु, अमिलो, कागतीलगायतका कुनै पनि रस निकाल्नु पर्ने बस्तु निचोर्न प्रयोग गर्ने बस्तुको नाम हो कोल । मेसिनरी युगको आगमनले यी प्रविधिलाई विस्थापित गरिदियो । अहिले यो हेर्न पनि दुर्लभ भएको छ । उल्लेखित बस्तुको दुर्लभ अबस्था र कोरोना पछिको लकडाउनको मानबीय अवस्था एकैखालको बन्न पुगेको छ । 

लकडाउनले केही मानिसहरु मोटाएका होलान् । यी केहीहरु त्यसै पनि मोटाएकै थिए । यिनीहरुको कुरा बेग्लै भयो । बर्ष दिनसम्म लक डाउन गरे पनि केही असर पर्दैन । तर, थुप्रै मानिस दुब्लाएका छन् । दुब्लाहरुले माम त पाएनन् नै, काम पनि पाएनन् । राम नाम सत्य हो भन्दै छिमेकीको मलामी जान पनि पाएनन् । अन्त जान पाएनन् । जन्त जान पाएनन् । विरामी भएको परिवारको सदस्यलाई अस्पताल लैजान पनि पाएनन् । जय नेपाल र लालसलाम पनि भन्न पाएनन् । कौल्हुका बैल बन्न खोजेकाहरु अनिकालको ढिकी बन्न वाध्य भए । भोलि के हुने हो थाहा छैन ।