'विदेशमा रहेका श्रमिक तत्काल ल्याऊ '

'विदेशमा रहेका श्रमिक तत्काल ल्याऊ '

५ वैशाख, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष हंसराज वाग्लेले विदेशमा रहेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्काउन सरकारले पहल गर्न ढिलाइ भएको बताएका छन् । 

'आठ सय ४८ वटा वैदेशिक रोजगार व्यवसायीहरुले कम्तीमा दुई करोडका दरले राखेको धरौटी १७ अर्ब जति राज्यसँग छ, साढे छ अर्ब जति कल्याणकारी कोषमा छ, त्यसलाई परिचालन गरेर भए पनि देशमा आउन चाहने, असुरक्षित भएका नागरिकलाई सरकारले ल्याउन तत्काल कूटनीति पहल गर्नुपर्ने' वाग्लेको भनाइ छ । 

जनताप्रति बढी जवाफदेही भएका अरु देशका सरकारले आफ्ना नागरिकलाई आफ्नै देशमा लगेको बताउँदै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका पूर्व सदस्य समेत रहेका वाग्ले भन्छन्, 'सम्बन्धित देशका सरकार, रोजगारदाता संस्थासँग कुराकानी गरेर सकिन्छ सित्याइँ नसके पनि खर्च गरेर भए पनि आफ्ना नागरिकलाई ल्याउनुपर्छ । 

उनी अगाडि भन्छन, 'मलेशिया र खाडीमा गरेर नेपाली श्रमिक लगभग ४० लाख होलान । विकसित देश अमेरिका, युरोप जापान, दक्षिण कोरियामा पाँच लाख जति होलान । असंगठित र भर्खरै काममा जोडिएकाहरुलाई कोरोना भाइरसको संक्रमणको भयले निकालिएका, आफैं खर्च गरेर आउन नसक्नेहरु बढीमा पाँच लाख होलान । दुई वर्षसम्म त रोजगार व्यवसायीहरुको घर फर्काउने दायित्व नै हुन्छ । त्यसरी दायित्व बोक्नुपर्ने बढीमा पाँच लाख नै होलान । वाहिर भएका सबै नआउन पनि सक्छन । आउनेहरु आफैं खर्च गरेर आउन सक्छन । त्यसको लेखाजोखा त्यहाँ कार्यरत नेपाली श्रमिक संगठन, दूतावासको पहलमा सरकारले गर्ने र सम्बन्धित देशसँग भनेर सित्तै, नभए सस्तोमा जहाजको व्यवस्था गरेर ल्याउने काम गर्नुपर्छ ।' 

वैदेशिक रोजगार व्यवसायी संघले त सरकारसँग धरौटी मागिरहेको छ, तपाईंले जिम्मेवार समाधान दिइरहनुभएको छ त भन्ने प्रश्नमा वाग्लेको भनाइ छ, 'कुन्नी केही साथीहरुले त्यो कुरा अहिले किन भनिरहनुभएको होला, मैले त बुझ्न सकेको छैन । अब केही समय वैदेशिक रोजगार चल्दैन भन्ने चिन्ताले त्यो कुरा उठाउनु धेरै अस्वाभाविक पनि होइन । हामी व्यवसाय गर्नेहरु व्यवसायीमात्र होइन समाज र नागरिकको पनि दायित्व बोक्छौं । सरकारले यसरी पहल लिंदा, त्यो फण्डलाई गतिशील बनाउँदा धेरै साथीहरुले चित्त दुखाउनु हुँदैन । बरु त्यो धरौटीलाई अन्य व्यवसाय रोज्दा पनि सरकार जमानी बसेर पनि अर्काे विकल्प दिने या यसमा कर छुटसहित अन्य सुविधा दिने कुरामा सरकारले सोंच्नुपर्ने हुनसक्छ । फेरि मैले भनें हाम्रो पहिलो प्राथमिकता भनेको नागरिकलाई देशमा ल्याउने हो । दोस्रो, हामीसँग रहेको फण्डलाई जुनजुन देशबाट आएका र जे जे काम गर्ने सिप जानेर साथीहरु आएका छन्, तिनलाई स्वरोजगार रकम हातमा थमाएर काममा खटाउने । पूर्व अर्थमन्त्री बाबुराम भट्टराई र पूर्व श्रममन्त्री गोकर्ण बिस्टले दिए जस्तो कार्यकर्ता पोस्ने रोजगार कोष खर्च गर्ने चाहिं होइन है । धरौटी र कल्याण कोषके लगभग २४ अर्ब रकममध्ये बढीमा उताबाट साथीहरु ल्याउन १० अर्ब नै खर्च होला, अरु रकम परिचालन गरेर आर्थिक उत्पादनमा लगाउनु पर्याे । आत्मनिर्भर, अझ कृषिमा जोड दिएर उत्पादन गराउने गरी रकम लगाउनु पर्यो । कोरोना भाइरसको संकटलाई अवसरको रुपमा बदल्न सक्नुपर्छ । कुनै देशको समृद्धि भनेको त्यो देशको बलिया पाखुरा हुन । वाहिर रहेर ्पसिना बगाएका श्रमिकलाई आफ्नै देशमा काम गर्ने गरी वातावरण बनाउनु पर्याे ।'