चीन विरुद्धका आलोचना स्वीकार्य छैनः पुटिन

चीन विरुद्धका आलोचना स्वीकार्य छैनः पुटिन

सबल दाहाल

काठमाडौं, ५ वैशाख । रसियन राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड–१९ वा कोरोना भाइरसको नाममा चीन विरुद्ध हुने कुनै पनि आलोचना आफूलाई स्वीकार्य नभएको बताएका छन् । 

यो भाइरस वेट मार्केटबाट फैलिएको हो कि ल्यावबाट निस्केको हो भन्ने बारे बेलायत र अमेरिकाले यसबारे छानविन गरिने भन्दै चीनलाई चेतावनी दिइरहेका छन् । 

अमेरिका लगायत उसका मित्र राष्ट्रहरुले भाइरसबारे चीन शुरुका दिनहरुमा पारदर्शी नभएको कारण अहिले विश्व महामारीको रुप लिएको भन्दै आलोचना गरिरहेका छन् । यसै सन्दर्भमा दुई शक्तिशाली राष्ट्र चीन र रुसका राष्ट्रपति सि जिन पिङ र पुटिन बीच आज टेलिफोन वार्ता भएको हो ।
डिसेम्बरबाट फैलिएको कोरोना महामारीपछि दुई राष्ट्रपति बीच भएको यो दोस्रो संवाद हो ।

राष्ट्रपति द्वयले भाइरसको नाममा राजनीति गर्ने विरुद्ध एकतावद्ध भएको सन्देश दिएका छन्् । संवादमा राष्ट्रपति सी जिन पिङले महामारीको बेलामा राजनीतिकरण गर्दा अन्तर्राष्ट्रिय सहकार्यमा कुनै फाइदा नहुने बताएका छन् । विश्व मानव स्वास्थ्य सुरक्षाका लागि चीन र रुस मिलेर अघि बढ्न पुटिनसँग संवाद भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । 

पुटिनले पनि जवाफमा चीनलाई बदनाम गराउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका हुन् । यस विरुद्ध मस्को र बेइजिङ मिलेर जाने उनको भनाई छ । 

पछिल्लो संवादले रुस र चीनले विश्वलाई फेरि एकचोटी दुई राष्ट्रबीच सहकार्य, एकतावद्ध र सँधैजसो उच्च स्तरीय सम्बन्ध रहेको सन्देश दिन सफल भएका छन् ।