नोर्बु लामा : आखिरी थाके, नथाक !

नोर्बु लामा : आखिरी थाके, नथाक !

वसन्त पोखरेल

रहेनन् नोर्बु लामा । २०७७ को शुरुवातीमै उनलाई गुमाइयो । शुभकामना दिने बेलामा समवेदना दिने अवस्था सिर्जना भयो । 

उनले आफ्नो नामको पछाडि नथाक उपनाम थप्ने गरेका थिए । तर, कालले थकायो । कोरोनाको भयावहमा स्वाभाविक मृत्यु मरेका उनको मलामी जान पाइएन । समवेदना, श्रद्धाञ्जली दिनका लागि छापा मिडिया पनि पाइएन । उनीसँग मेरो लामो उठबस भएको हो । मुलुक लकडाउन हुनुअघि मोवाइलमा सम्पर्कको प्रयास गरेको थिएँ । तर, लागेन । विरामी मान्छे, सायद निदाएका होलान् भन्ने लाग्यो । उनले भन्थेः एक दर्जन प्रकारका औषधि सेवन गर्नुपर्छ । पेटमा अनाजको मात्राभन्दा औषधिको मात्रा बढी पर्छ । कति थरि रोग लागेको छ भन्ने कुरा उनलाई नै थाहा थिएन । पायल्स, सुगर, प्रेसर, युरिक एसिड, घुँडामा संकुचन हुने, नसामा समस्या, एलर्जी आदि अनेक रोगको घर बनाएका थिए उनले आफ्नो शरीरलाई । रोगहरुले उनलाई नै लकडाउन गरिदियो । भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु । शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । 

नोर्बु लामा खासमा एउटा ब्यक्ति विशेष थिएनन् । उनी एउटा संस्था थिए । प्रतिभावान धरोहर थिए । उनको पहिचान उपभोक्ता हित संरक्षण मञ्चबाट बढी देखिएको छ । उनी सो संस्थाका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष थिए । उपभोक्ताका अधिकारका आवाजहरु उठाउने प्रवक्ता थिए । उनी मञ्चमा बोल्थे । पत्रपत्रिकामा लेखहरु लेखेर उपभोक्तालाई सजग पार्थे । रेडियो, टेलिभिजनमा उपभोक्ता अधिकारका कुरा राख्थे । बेलाबेलामा प्रशासनको सहयोगमा खाद्य पसलहरुमा छड्के निरीक्षण गर्न पुग्थे । मासु पसलहरुमा हुने घपलाबाजी (मिसावट) बाट उपभोक्तालाई सजग तुल्याउँथे । कैयौँ खसीको मूल्य लिएर बाख्रीको मासु बेच्नेलाई कारवाहीको सिफारिस गर्थे । तोरीको तेलको लेवलमा मेक्सिकानाको तेल नेपालमा आयात गर्ने आयातकर्तामाथि रोक लगाउने र त्यसबाट भएको मानवीय क्षतिको क्षतिपूर्ति भराउने काममा उनको ठूलो योगदान रहेको थियो । 

उपभोक्ता हित संरक्षण मञ्चमा मात्र उनी सीमित थिएनन् । उनी शैक्षिक अगुवा थिए । उनी रुपन्देहीको बुटवलमा विना मुनाफा निजी बोर्डिंग स्कूल सञ्चालन गर्ने अगुवा हुन् । शिक्षा दान हो, ब्यवसाय होइन भन्ने उनको मान्यता थियो । मुनाफा लिएर उनी कहिल्यै धनी बन्ने प्रयासमा लागेनन् । सँधै भाडाको कोठामा बसे । भाडामै घर लिएर स्कूल सञ्चालन गरे । मृत्यु पनि भाडाकै कोठामा वरण गरे । 

नोर्बु लामाको परिचय यत्तिमामात्र सीमित छैन । उनी तैल चित्रकार हुन् । उनले बनाएका चित्रहरु धेरै घरका भित्तामा सजिएका छन् । एकपटक अनुहार राम्रोसँग हेरे भने त्यो अनुहार उनले कागजमा उतारिदिन्थे । रंग भर्थे । दिन्थे । तर, निःशुल्क । उनले बनाएको एक थान गौतम बुद्धको चित्र मेरो घरको भित्तामा पनि लामो समय टाँगिएको थियो । पछि कसैलाई उपहार दिइयो । उनी कार्टुनिष्ट पनि हुन् । पत्रपत्रिकामा कार्टुन लेख्ने काम पनि गर्थे । उनका गोडाका गोलीगाँठा थान्का बनाउने क्रममा निकै बाक्लिएका थिए । भुइँमा चाकलमाडी बसेर थान्का कोर्ने उनको आदत थियो । 

पछिल्लो चरणमा उनले बुटवल टुडे राष्ट्रिय दैनिकमा स्तम्भकारको रुपमा खुबै रचनाहरु लेखे । खासगरी उपभोक्ताका हितका कुराहरु उनले उठाए । आफ्ना अनुभव, अनुभूतिहरु पस्के । उनले नेपाली जनतालाई उपभोक्ता हित अधिकारका सम्बन्धमा ठूलो योगदान दिएका छन् । कलम, कुचीबाट उनले आफ्नो प्रतिभा समाजलाई दिएका छन् । उनका ती तमाम रचनाहरु एउटै सँगालोमा समेटेर पुस्तिका बनाउने हो भने ठूलो पुस्तिका बन्छ । युग, युगान्तरका लागि त्यो अनमोल सूचना बन्न सक्छ । अन्त्यमा पुनः श्रद्धा सुमन !