सर्लाहीका एक बालकको र्यापिड टेष्टमा देखियो कोरोना पोजेटिभ

सर्लाहीका एक बालकको र्यापिड टेष्टमा देखियो कोरोना पोजेटिभ

सर्लाही, बैशाख ६ । सर्लाहीको धनकौल गाउँपालिकामा रहेको क्वारेन्टाईनमा रहेका १४ वर्षीय बालकको र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको छ । र्‍यापीड टेस्ट गर्दा कोरोना भाइरस पोजेटिभ देखिएपछि राती नै उनलाई प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

उनीसँगै भारतबाट आएका र हाल क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिको ‍र्यापिड टेष्ट भने नेगेटिभ देखिएको छ । पोजेटिभ देखिएका बालकको अहिले जनकपुरमा थप परिक्षण भइरहेको छ । कोरोना पोजेटिभ देखिएका ती बालक गएको चैत २३ गते दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी पाएसंगै सुरक्षाकर्मीलाई उनलाई घर नपुग्दै क्वारेन्टाइनमा राखेको थियो।

यसअघि प्रदेश २ कै सप्तरीमा दुई जनाको र्‍यापीड टेस्ट पोजेटिभ आएपनि पीसीआरमा टेस्ट गर्दा नेगेटिभ आएको थियो । प्रदेश २ मा अहिले तीन भारतीय नागरिकसहित चार जना कोरोना संक्रमित रहेका छन् ।