कोरोना कहर : नेपालका लागि चुनौती र अवसर  

कोरोना कहर : नेपालका लागि चुनौती र अवसर  

सीता अधिकारी

नेपाल यतिखेर बन्दाबन्दीमा छ । चैत्र ११ गतेबाट भएको यो बन्दाबन्दी आज २६ औं दिनमा छ । यो अवस्था कति दिन लम्बिने हो अहिले नै यसै भन्न सकिने स्थिति छैन । नेपालमा अहिले कोरोना संक्रमितको संख्या ३० पुगिसकेको छ । र, यो अझै बढ्न सक्ने खतरा जीवित नै छ । आरडीटी परीक्षणमा पोजिटिभ विरामी थपिएका छन् । साथै आरडीटीमा नेगेटिभ देखिएकाहरुको पनि पोजिटिभ हुनसक्ने संकेत उदयपुरका संक्रमितहरुको रिपोर्टले बताइसकेको छ । 

अहिलेसम्म जति पनि संक्रमित फेला परेका छन् ती अधिकांश विदेशबाट आएका नागरिक नै रहेका छन् । सरकारले बेलैमा अन्तर्राष्ट्रिय उडानलाई बन्द नगरेको भए आज हाम्रो देशले इटलीको स्थिति भोगिसकेको हुने थियो ।

अहिले लकडाउनको कारण राजधानीबाट पैदलै गृह जिल्लातर्फ हिंड्नेको लर्काे लागेको छ । यसरी हिड्नेमा कतिपय बाध्यताबस त कतिपय आफ्नै घरमा परिवारसहित बसेर संकटको सामना गर्ने मनसायले लागेको पनि बुझिन्छ । यसै विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणीहरु आइरहेका छन् । हो, सरकारले बाध्यताबस हिंड्नेलाई स्वास्थ्य, भौतिक सुरक्षाको उचित व्यवस्था गरेर गन्तव्यसम्म पु¥याइ दिने व्यवस्था गरे अति राम्रो हुने थियो । त्यसो गर्ने हो भने राजधानीमा राहत वितरणको चापलाई पनि थेग्न सकिन्थ्यो । यदि उनीहरुमध्ये कोही भाइरस संक्रमित नै रहेछन् भने पैदल यात्राबाट जाँदा अझ बढी संक्रमण फैलने डर हुन्छ । सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हिजो हिडेर घर जानेहरुलाई जो जहाँ छन् त्यही रोक्नु भन्ने निर्देशन आयो । यो एक हदसम्म ठीकै पनि होला । बाटो लागिसकेकालाई उचित प्रवन्ध मिलाएर घर पु¥याउनु नै उचित विकल्प हुन सक्थ्यो । किनभने बन्दाबन्दीको समय कहिलेसम्म हो निश्चित छैन । शहरमा काम गरेर खाने र बालबच्चा पढाउने भविष्य नदेखेर घरमै गएर आफ्नो बाँझो जमिनलाई खोस्रने र जेजसो गरेर भए पनि गाउँमा नै बस्ने अठोटका साथ पनि कतिपयहरु बाटो लागेका छन् भने कतिपयले बन्दाबन्दी खोलेपछि गाउँ फर्कने मनस्थिति बनाइरहेका छन् ।

२०७२ सालको महाभूकम्पमा होस् वा यो कोरोना भाइरसले निम्त्याएको प्राकृतिक विपत्तिमा किन नहोस् नागरिकहरुले गाउँलाई नै सम्झने र शहरलाई असुरक्षित महसुस गरेका छन् । अधिकांश जनताको मनोविज्ञानलाई आत्मसात गरेर सरकारले नीति र योजनामा नै गाउँमा हरेक अवसरहरुको सिर्जना गर्न जरुरी छ । शहरमा बढ्दै गएको समस्यालाई हल गर्ने उत्तम उपाय पनि यही हो ।

आगामी दिनहरुमा राजधानीबाट मात्र होइन, भारत लगायत वैदेशिक रोजगारीमा गएका युवाहरु पनि नेपाल फर्कने छन् । अहिलेसम्म भारत वाहेक औपचारिक र अनौपचारिक माध्यमबाट गएका करिव ५० लाख जति युवाहरु वैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको भनिएको छ । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको कारण विश्वभर आर्थिक मन्दी आउने निश्चित छ । धेरै युवाहरु रोजगार गुमेर नेपाल फर्केपछि नेपाललाई एकातर्फ नेपाली अर्थतन्त्रमा ठूलो भरथेग गरेको विप्रेषण ठप्प हुने तथा देशमा वेरोजगारीको संख्या बढ्नेछ । खाद्यान्नको माग बढ्ने र आन्तरिक र वाह्य उत्पादन घटेर आपूर्तिमा समस्या थपिनेछ । विश्व बैंकले कोभिड १९को कारण नेपाल लगायत दक्षिण एशियाका मुलुकहरु चालीस वर्ष यताकै सर्वाधिक कमजोर अवस्थामा पुग्ने बताएको छ । 

सरकारले यस्तो चुनौतीको सामना कसरी गर्ने भन्ने स्पष्ट दृष्टिकोणको साथ अगाडि बढ्नु पर्ने देखिन्छ । यतिबेला तीनै तहका सरकारहरु नीति योजना र कार्यक्रम बनाउने पूर्व सन्ध्यामा आइपुगेका छन् । 

आगामी नीति, योजना र कार्यक्रमहरु जनताको जीवन रक्षालाई मुख्य जोड दिएर ल्याउनु पर्दछ । नागरिकहरुलाई कसरी खाद्यान्न सुरक्षाबाट जोगाउने भन्नेतर्फ राज्यको ध्यान जान जरुरी छ । विकासतर्फको बजेटलाई लोककल्याणकारी राज्यको अनुभूत हुने गरी नागरिकको सुरक्षातर्फ लगाउन जरुरी छ । कृषकहरुलाई मल, विउ र प्राविधिक रुपमा सहयोग गरेर खाद्यान्न उत्पादनमा लगाउने कार्यक्रम बनाइनु पर्छ । कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्दै सहकारीको माध्यमबाट चक्लाबन्दी गरिनुपर्दछ । पहाडी तथा हिमाली क्षेत्रमा पशुपालन व्यवसायको विकास गर्ने गरी तालिम, अनुदान जस्ता कार्यक्रमहरु ल्याउनु पर्दछ । यसको साथै त्यस क्षेत्रमा कृषिजन्य साना उद्योगहरु स्थापना गर्दै लैजान जरुरी छ । कृषि क्षेत्र नै नेपालको ठूलो रोजगारीको सम्भावना बोकेको क्षेत्र हो । यसबाट नै रोजगार तथा स्वरोजगारको वातावरण बनाउन सकिन्छ । कृषिसँगै नेपालमा जडीबुटीको ठूलो भण्डार छ । यसलाई सदुपयोग गर्न सरकारले नीति र कार्यक्रम बनाउनु पर्छ ।

समृद्धिका महत्वपूर्ण आधार युवाहरुको बलिया पाखुराहरु हुन भन्ने कुरालाई राम्रोसँग मनन गरी नीति र योजना बन्नुपर्छ । युवाहरुले आफ्नै देशमा सेवा गर्ने र पसिना बगाउने महत्वपूर्ण अवसर प्राकृतिक विपत्तिले ल्याइदिएको छ । यस चुनौतीलाई अवसरको रुपमा बदल्ने जिम्मेवारी यतिबेला जनताले नेकपाको सरकारलाई सुम्पेका छन् । सरकारले यो जनताको विश्वासलाई गुम्न दिने छैन भन्ने अपेक्षा गर्नु अन्यथा होला र ? ६ वैशाख २०७७

(लेखक प्रदेशसभा सदस्य, बागमती प्रदेश, काठमाडौं )