कोरोना संक्रमित युवती निको भइ घर फर्किइन्

कोरोना संक्रमित युवती निको भइ घर फर्किइन्

काठमाडौं, ६ बैशाख । कोरोना भाइरस सङ्क्रमित दोस्रो व्यक्ति पनि उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाण्डौको शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी स्वस्थ भएर एक युवती शनिबार घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिए ।

गएको चैत १० गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनले उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन् ।

काठमाण्डौ घर भएकी उनी गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाण्डौ आएकी थिइन् । गएको चैत ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना सङ्क्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर अनुप बाँस्तोलाले जानकारी दिए । यसअघि पहिलो सङ्क्रमित पनि उपचारपछि निको भएर फर्किसकेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण उपचारपछि निको हुने भएकाले बेलैमा उपचार गराउन र सतर्क रहन डाक्टरहरुले सुझाव दिँदै आएका छन् । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।