ट्रम्पले साँच्चै चीन विरूद्ध ‘फायर’ खोल्न लागेका हुन र ?

ट्रम्पले साँच्चै चीन विरूद्ध ‘फायर’ खोल्न लागेका हुन र ?

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको विरोध गरी चुनाव जित्न लागेका हुन कि साँच्चै चीनसँग युद्ध लड्न ‘फायर’ खोल्ने तयारीमा लागेका हुन् । कोरोनाभाइरस महामारीका बारेमा अमेरिकाले चीनमाथि आरोप लगाउँदै अभियान चर्काउन लागेको देखिएको छ ।

ट्रम्पले भने “ चीनले जानी जानी कोरोनाभाइरस फैलाएको भए त्यसको ठूलो मूल्य चुकाउनु पर्छ । गलती  गलती हुन्छ । तर जानी जानी गरिएको रहेछ भने निश्चय नै परिणाम भोग्नु पर्छ ”
ट्रम्पले यो चेतावनी उनले दैनिक जानकारी दिने क्रममा दिए । ट्रम्पले चीन विरूद्ध प्रहार गर्ने शब्द वाण मध्येको यो नयाँ हो । विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव बढ्दै गएकोमा कोरोनाभाइरस प्रकरणले झन बढाउन लगेको देखिएको छ ।

तर ट्रम्पले त्यो परिणाम बारे केही खुलाएनन् । ट्रम्पका बरिष्ठ सहयोगीहरूले कोरोनाभाइरस बारे चीनले अपारदर्शी भूमिका खेलेको आरोप लगाएका छन् । वुहानमा कोरोनाभाइरस फैलिएको बेला राष्ट्रसंघीय नियोग विश्व स्वास्थ्य संगठनले चीनलाई सहयोग गरेको भनी ट्रम्पले अमेरिकाबाट दिइने कोष रोक्का समेत गरेका छन् । 

अमेरिका र चीन दुबै भाइरसबारे पटक पटक आफ्ना अडान सार्वजनिक गर्दै आएका छन् । शुरूमा चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रशंसा गरेका ट्रम्पले पछिल्ला समयमा ‘चिनियाँ भाइरस’ भनी चीनको कठोर आलोचना सम्म गर्न पुगे । पछि विश्व समुदायले आलोचना गरेपछ चिनियाँ भाइरस दोह¥याउन छाडे पनि चीनको विरोध गर्न उनका सहयोगीले छाडेको देखिएन् ।

अमेरिकी सेनाले भाइरस सारेको चिनियाँ अधिकारीहरूको  शुरूवाती  आरोपलाई ट्रम्पका अधिकारीहरूले आक्रोशपूर्ण तवरले अस्वीकार गरेका छन् ।

ट्रम्प र तिनका सहयोगीहरूद्वारा कोरोनाभाइरस महामारीमा चीनलाई मुछ्नुको पछाडि आगामी चुनावमा फेरि जित्ने ‘दाउपेंच’ भएको कतिपयको बुझाइ छ ।चीन विरोधी भावना भड्काएर ट्रम्पले अधिकांश मतदाताको मत आफ्नो बाकसमा झार्न ट्रम्पले चीनलाई शनिबार यस्तो चेतावनी दिएका हुन् ।

आलोचकहरूका अनुसार अमेरिकाले चीनको विरोध गरेर मात्रै केही हुने देखिदैन् । अमेरिका आफै व्यक्तिगत सुरक्षाका उपकरणको आपूर्ति चीनको भरमा टिकेको छ । चीनलाई रिसाइ दिएर यस्ता सामानको आपूर्तिमा समस्या उत्पन्न गराउनु अमेरिकाको भित्री मनसाय हुन सक्दैन् ।

हालै अमेरिका र चीनबीचको बहु अर्ब कृषि सम्झौताका कारण  ट्रम्पले सम्बन्ध राम्रो रही आएको जनाएका थिए ।

गत साता फक्स न्युजले वुहानको  भाइरससम्बन्धी प्रयोगशालामा यो भाइरस बनाएर चीनले फैलाएको आरोपको बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यसबारे सत्य पत्ता लगाउने प्रयास सरकारले गरिरहेको बताए ।

शनिबार जानकारी दिने क्रममा ट्रम्पले चुनावसम्बन्धी कुरो पनि उठाए । डेमोक्रेटिक पार्टीको तर्फबाट आफ्नो प्रतिस्पर्धी हुने जो बिडेनबारे पनि बोले । 

ट्रम्पले भने “स्लिपी जो’ जितेमा चीन र अन्य देशले हाम्रो देशलाई कब्जामा लिने छन् ।” 

अमेरिकामा ७ लाख २० हजार बढी संक्रमित भइसकेका छन् भने मर्नेको संख्या ३७ हजार नाघेको छ ।

यसअघि ट्रम्पले चीनले कोरोनाभाइरसबाट मर्नेहरूको संख्या लुकाएको आरोप पनि लगाए ।

यी सबै परिदृश्यमा पर्यवेक्षकहरू दोधारमा परेका छन् । ट्रम्पले साँच्चै चीन विरूद्ध ‘फायर’ खोल्न लागेका हुन कि चीनको विरोध गरी चुनाव जित्ने ‘दाउपेंच’को प्रयोग  गरिरहेका छन् ।