भारतमा एक मजदुरले पैसा नभएर आफ्नै आँखा अगाडि बालबच्चाको बिचल्ली देखेपछि मोबाइल बेचेर राशन ल्याए अनि आत्महत्या गरे
७ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणको समस्या दिनदिनै बढेको छ । लकडाउनका कारण कामधन्दा पूरै बन्द छ ।
भारतको हरियाणाको गुरुग्राममा रोजीरोटीका लागि विहारबाट आएका एक मजदुरले फाँसी लगाएर आत्महत्या गरे । इण्डियन एक्सप्रेसका अनुसार ३५ वर्षीय छवि मण्डल विहारका थिए । गुरुग्राममा लामो समयदेखि उनी पेण्टरको काम गर्थे । उनको परिवारमा आमा बाबु, पत्नी र चार बच्चा थिए । सबैभन्दा सानो बच्चा पाँच महिनाको मात्र थियो ।
लकडाउनका कारण काम बन्द भयो । खानाको चिन्ताले उनलाई सताउन थाल्यो । यसै कारण आफूले चलाएको मोबाइल भारु २५ सयमा बेचे । त्यसबाट उनले केही राशन र बोकेर हिंड्न मिल्ने पंखा किने । त्यसपछि उनले घाँटीमा पासो लगाएर आत्महत्या गरे ।
उनका परिवार बुधवारदेखि नै भोकै थिए । जब घरमा राशन आयो त्यसपछि तिनकी श्रीमती तत्काल खाना बनाउने सुरसार गरिन । खाना बनाउनु पहिले उनी नुहाउन बाथरुम गइन । बच्चाहरु हजुरबा, हजुरआमासँग वाहिर खेलिरहेका थिए । यही बेलामा मंडलले ढोका बन्द गरेर सारीको पासो लगाए । परिवारको हालत यस्तो थियो कि उनको अन्तिम संस्कारका लागि समेत पैसा थिएन । छिमेकीको मद्धतले उनको अन्तिम संस्कार भयो ।
ती श्रमिककी पत्नी भन्छिन, लकडाउनका कारण उनी असाध्यै चिन्तित थिए । हामीसँग खाने सामान थिएन र काम पनि थिएन । सरकारले सित्तैमा दिने खानामा मात्र निर्भर थियौं । त्यो पनि सधैं मिल्दैन थियो ।
उता स्थानीय प्रहरी अधिकारीका अनुसार ती श्रमिक मानसिक रुपमा समस्यामा थिए । केही दिनदेखि उनी थप तनावमा थिए । यसै कारण उनले यस्तो कदम उठाए ।
लकडाउनको सबैभन्दा मार वाहिरबाट शहरमा आएका मजदुर र दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई बढी परेको छ ।
यस्तो संकेत नेपालमा पनि देखिएको छ । केपी ओली सरकारले बेलैमा वाहिरबाट आएर शहरमा विचल्लीमा परेकाहरुलाई गन्तव्यसम्म पुर्याइदिने कार्य गर्न किन ढिलाइ गरिरहेको छ ?
प्रतिक्रिया