सिन्धुलीमा ठूलो परिमाणमा भारतीय तरकारी भित्रियो, कमलामाईद्वारा नष्ट
प्रेम दाहाल
७ वैशाख, सिन्धुली जिल्ला सदरमुकाममा ठूलो परिमाणमा भारतबाट हरियो साग सब्जी लगायतका तरकारी भित्रिएको छ ।
गए राति महोत्तरी जिल्ला प्रशासन कार्यालयको सवारी पासमा सिन्धुली जिल्लामा ठूलो परिमाणमा तरकारी ल्याइएको सूचनाका आधारमा खोजी गर्दा फेला पारिएको कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले जानकारी दिए ।
व्यापारीहरुबाट उठाएको सबै भारतीय तरकारीहरु गरपालिकाले ल्याण्डफिल्ड साइटमा लगेर नष्ट गरेको छ । समाचार स्रोतका अनुसार धनुषा र सिन्धुलीका वोर्डरमा रहेको चुरेमा रहेको प्रहरीको चेक पोष्टमा रामेछाप जिल्लामा लैजाने भन्दै शनिवार साँझ गाडी तरकारी भिमान र माइस्थान क्षेत्रमा ल्याएर विक्री गरेको थाहा पाएपछि हिजो राति नै सो गाडीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थाहा लागेको छ ।
त्यसैगरी चुरे चेकपोष्टमा आइतवार बिहान ४ बजे रामेछापमै लैजाने भनेर अर्को गाडी सिन्धुली जिल्ला प्रवेश गरेको थियो । सो गाडीले ल्याएको तरकारी रामेछाप नलगी सिन्धुलीमै रहेका तरकारी व्यवसायीलाई बेचिएको सूचना नगरप्रमुख खत्रीले थाहा पाएका थिए । सिन्धुली रातमाटा निवासी तरकारी व्यवसायी कुमार भनिने दीपक थापाले तरकारी बजार, ढुंग्रेवास, रातमाटा लगायतका क्षेत्रमा विहान ५ बजे नै तरकारी खसालेर सो तरकारीको पैसा व्यवसायीबाट लिएको बताइएको छ ।
कृषि उपज बजारमा तरकारी बिक्रीको काम गर्दै आएका व्यवसायीका अनुसार तीन जनाले मात्रै बजारमा थापाबाट भारतीय तरकारी झारेका थिए । थापाबाट झारेको तरकारीको पैसा थापाले नै दिइसकेको र नगरपालिकाले सो तरकारीहरु उठाइदिएपछि उनीहरु घाटामा परेका छन् । भारतीय तरकारी नै हो भन्ने थाहा पाएको भए हामीहरुले राख्ने थिएनौं । 'सधैं उसैले हामीलाई तरकारी ल्याउँथ्यो, यसपटक पनि बिहान ५ बजे नै कति तरकारी चाहिन्छ भनेर फोन गरेपछि खसाल्दिनु भनेका थियौं', एक व्यवसायीले भने । 'तर यसपटक थापाले हामीलाई मात्रै होइन, सिन्धुलीका जनतालाई धोका दिए', ती व्यवसायीले भनेका छन् ।
स्मरणीय छ, स्थानीय प्रशासन र नगरपालिकाले जिल्लामा बाहिरी जिल्लाबाट कुनै पनि खाद्य सामाग्री ल्याउन रोक लगाएको थियो ।
यो पनि पढ्नुहोस,
प्रतिक्रिया