कांग्रेसमा देउवा विरोधी मोर्चा सक्रिय

कांग्रेसमा देउवा विरोधी मोर्चा सक्रिय

नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई प्रभावित गर्न सभापति शेरबहादुर देउवा विरोधी कांग्रेसी क्याम्प खडा गर्न सुरु भएको छ । यसैक्रममा चाक्सिवारीमा दिनहुँ बाक्लो बैठकहरु हुँदै आएको छ । बैठकको नेतृत्व बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । पार्टीलाई देउवाको हातबाट छिन्न यी नेताहरुले तरेलीतरेलीका बैठकहरु आयोजित गर्दै रहेको स्रोतहरुले उल्लेख गरेका छन् । 

गत महाधिवेशनमा देउवालाई जिताउन सभापतिका करौंती उम्मेद्वारको भूमिका खेलेका सिटौलाको उपस्थितिलाई अर्थपूर्ण रहेको छ । नेपालको राष्ट्रिय राजनीतिमा भूराजनीतिले पार्ने प्रभावले नै सिटौलाको उपस्थितिको रुपमा हेरिएको छ ।

गणेशमान पुत्र प्रकाशमान सिंहको निवास चाक्सिवारीमा सिटौलासमेतको सहभागिता गराउन सफल भएपछि देउवा विरोधी खेमाले लामो स्वास फेरेको बुझिन्छ । यता कोइराला परिवारका सदस्यहरु महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइरालासहित डा. मीनेन्द्र रिजाल, कोषाध्यक्ष सीतादेवी यादव, गगन थापा, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, डा. रामशरण महत, नवीन्द्रराज जोशी र स्वयम प्रकाशमान सिंह पनि उपस्थित थिए । 

नेपाली कांग्रेसलाई देउवा पक्षले दक्षिणपन्थी धारमा धकेल्दै लगेकोले बाम धारमा कांग्रेसलाइ हिँडाउन आगामी महाधिवेसनको गृहकार्य गर्न भेला भएको उपस्थित सदस्यहरुले सार्वजनिक गर्न थालेका छन् । 

दुई क्याम्पमा कांग्रेस विभाजित भइरहेको बेलामा केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।