ओलीको अध्यादेश अस्त्र, नेपाललाई धम्की ?
सञ्चार लाल
वैशाख ८ गते मन्त्रीपरिषद वैठकले सत्तारुढ दल लगायत सिंगै देशको राजनीतिलाई तरंगित हुने गरी राष्ट्रपति मार्फत जारी गराएका दुई अध्यादेशले सबैभन्दा बढी झड्का सत्तारुढ नेकपामा नै परेको छ ।
अध्यादेश जारी भए लगत्तै बसेको नेकपाको सचिवालय वैठक अध्यादेशप्रति ठोस प्रतिक्रियासम्म जनाउन नसक्दै सकियो । सोमवारको यो आकस्मिक घटनाक्रमले मंगलवारको राजनीतिलाई तरंगित गरिरह्यो ।
तर, मंगलवार यस प्रकरणमा सत्तारुढ नेकपाका शीर्ष नेताहरुमध्ये माधवकुमार नेपालले मात्रै औपचारिक प्रतिक्रिया जनाए । तत्कालीन नेकपा एमालेमा १४ वर्ष महासचिव चलाइसकेका र प्रधानमन्त्री समेत भइसकेका अहिलेको नेकपाका चौथो वरियताका नेता नेपालले मंगलवार निकालेको मध्यमार्गी वक्तव्यले धेरै खालका आशंका र सम्भावनाहरुलाई उजागर गरेको छ ।
ओलीले आफुलाई मात्रै होइन सबैलाई पायक पर्ने गरी ल्याएका दुई अध्यादेशको आन्तरिक प्रहार नेता माधव नेपालपति नै लक्षित देखिन्छ । किनभने नेपाल अहिले नेकपाभित्र मध्यमार्गी नेताका रुपमा रहेका छन् । पूर्व एमाले र माओवादीको कित्ताकाट गर्दा पनि ओली र प्रचण्ड दुबैसंग आफूले चाहेमा छुट्टै दल दर्ता गर्न पुग्ने ४० प्रतिशत संख्या दल वा संसदीय दलमा सुरक्षित छ । तर, नेता नेपालसँग एक्लै ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्य पुर्याउन सक्ने अंकगणित नेकपाभित्र छैन ।
नेकपाभित्रका जानकार सूत्रहरुका अनुसार केपी ओलीले कुनै हालतमा प्रचण्डलाई नेकपाको नेतृत्व सम्पूर्ण रुपमा सुम्पन तयार नभएपछि नेता नेपाललाई सुरुमा थर्काउँदै पछि फकाउँदै आफूपछि प्रचण्डको विकल्प बन्न जोडबल गरेका थिए ।
अहिले पनि अध्यादेशको बलमा पूर्व एमाले हिस्साको पार्टी जोगाउने भए प्रचण्डको साथ छोडेर आफ्नो कित्तामा आउन नेता नेपाललाई प्रधानमन्त्री ओलीले खुल्ला चुनौती दिएका हुन । अब नेता नेपालले ओली र प्रचण्डबीच खेलेर आफ्नो स्थान सुरक्षित राख्ने सुविधा गुमाएका छन् ।
किनभने विगतमा ओलीको धेरै पेलाई सामना गर्न नसकेर उनले अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल जस्ता प्रभावशाली नेताहरुलाई पनि आफ्नो समूहमा गोलवन्द गरिरहन सकेनन् । अहिले अढाई लाइनमा देखिएका नेता नेपालले पूर्व एमाले समूहबाट ओलीको विकल्प आफू बन्न तयार भएमा ओलीको साथ पाउन सक्ने संभावना पनि छ । तर, यसका लागि नेपालले आफूलाई ओली समूहसँग विलय गराउनुको विकल्प हुने छैन ।
तर, प्रचण्डसँग जनयुद्धकालदेखि नै मुद्धा, विचार र कार्यशैलीसँग निकट नेता नेपाल ओलीसँग चेपुवामा परेर मात्रै मिल्न सक्ने अवस्था विद्यमान छैन । ओलीले तेस्रोबाट चौथो वरियतामा घटुवा गरिदिनेदेखि जिल्ला जिल्लाको पकड भत्काइदिने तथा स्थानीय तहदेखि केन्द्रसम्म एक्लो बनाइदिने दण्ड नेता नेपालाई दिएका हुन् । त्यसैले अहिले पूर्व एमालेमा उतिबेला रहेको पकड नेता नेकपाको बाँकी रहेको अवस्था छैन् ।
अध्यक्ष ओली र नेता नेपालबीचको कटुता धेरै सार्वजनिक रुपमा नै छरपस्ट भइसकेको हो । कतिसम्म भने गत भदौंमा ओली सिंगापुरमा उपचार गराउन जान लाग्दा नेता नेपालले दिएको शुभकामनासम्म अस्वीकार गरेर ओलीले नेपाललाई अपमानित गरेका थिए । पार्टी कामदेखि सरकार गठन, संचालनका कुनै पनि काममा अहिलेसम्म ओलीले नेपाललाई महत्व दिएका छैनन् ।
पार्टी अध्यक्ष र दुई पट्क प्रधानमन्त्री नै भइसकेका कारण ओलीलाई अब बाचुन्जेल आफैले पार्टी र सरकारमा एकछत्र राज गर्ने, आफ्नो सेखपछि लुत्रिएर आए नेता नेपाललाई उत्तराधिकारी बन्ने मौका सुरक्षित गरिदिने नभए जे होला होला भन्ने भित्री रणनीति बनाएको स्पष्टै देखिन्छ । किनभने मुख मिले पनि प्रचण्डसँग ओलीको मनसँग मन नमिलेको यथार्थ 'ओपन सेक्रेट' नै छ ।
ओली पक्षसँग विना शर्त आत्मसमर्पण शैलीमा मिलेमा नेता नेपाल भोलिका दिनमा पूर्व एमाले कित्ताको ओली पक्षीय नेता हुन सक्ने छन । तर, त्यसरी विना शर्त ओलीसँग झुकेर दानमा नेतृत्व लिने कि सबैको मन जितेर सर्वसम्मत नेता हुने त्यो तय गर्न नेता नेपाललाई अप्ठ्यारो परेको देखिन्छ । प्रचण्डतिर लाग्दा त पचण्डको विकल्पमा नेता नेपाल आउन सक्ने चान्स नै छैन । किनभने उमेर र गतिशीलता र योजनाका कारण प्रचण्ड लामो समय नेतृत्वमा रहिरहने सम्भावना छ ।
अहिलेको नेकपाभित्रको समीकरणमा अर्का अध्यक्ष प्रचण्ड मजबुत छन् । उनले कुनै पनि बेला दाम्लो चुडाएर हिड्न सक्ने भैंसी जस्तै आफ्नो पकडमा ४० प्रतिशत भन्दा भारी केन्द्रीय समितिको बहुमतको अंकगणित सुरक्षित राखेका छन ।
फेरि अहिलको परिवर्तित परिस्थितिमा अब व्यक्तिका पछि नेता कार्यकत्र्ता लागेर पार्टी बन्ने अवस्था छैन । नेकपाभित्रका तममा कार्यकर्ता नेताहरु मुद्धा, विचार र नेतृत्व क्षमताका आधारमा नेतृत्वको चयन र समर्थन गर्न सक्षम भएको उदाहरण केन्द्रीय समितिको गत माघमा सम्पन्न वैठकमा पनि मुखरित भइसकेको छ ।
भोलि नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी समूहको विभाजन नै भइहाले पनि हिजोको पार्टी लिगेसीका आधारमा नभई नयाँ नेतृत्व र एजेण्डामा नेकपाभित्र नयाँ ध्रुवीकरण बन्नेछ । र, त्यसो गर्दा पनि केपी ओली र प्रचण्डको नै भारी पर्ने अवस्था देखिन्छ । त्यसैले नेता नेपालले अब ओली वा प्रचण्डको वीचमा खेलेर राजनीति गर्ने दिन सकिएको आभास हुन्छ । १० वैशाख २०७६
यो पनि पढ्नुहोस,
प्रधानमन्त्रीको सरप्राइज : कोरोना केन्द्रित मनोविज्ञान अब राजनीतितिर सिफ्ट
प्रतिक्रिया