कोरोनाको सन्त्रास र आयुर्वेदीय उपचार विधि
डा. सन्तोष ठाकुर, औषधि व्यवस्था विभाग, आयुर्वेद शाखा
विश्वभर फैलदैं गएको कोरोना भाइरसको स्पेसिफिक उपचार न एलोप्याथीमा छ न त आयुर्वेद चिकित्सकीय पद्धतिमा नै । वास्तवमा यो यस युगकै कहालीलाग्दो महामारीका रुपमा फैलिइरहेको रोग हो । तथापि रोग भन्ने वित्तिकै उपचार नै नहुने पनि होइन । जहाँ रोग हुन्छ, त्यहाँ कुनै प्रकारको उपचार विधि त भइहाल्छ । त्यस्तै यस्तो विपदका बेलामा ‘आयुर्वेद, योग तथा प्राकृतिक एवम् अन्य कुनै उपायले कोरोनाको ट्रिटमेन्ट गर्छु भन्दै अफवाह फैलायो भने त्यसको पछाडि नलागौँ भनेर म तपाईंको पत्रिकामार्फत् यो सन्देश पनि प्रबाह गर्न चाहान्छु ।
विश्वभरि नै यसलाई दुई तीनप्रकारले हेरिएको छ । पहिलो त कोरोनाको महामारीबाट बचावट रोकथाम कसरी गर्ने भन्ने नै हो । त्यस्तै यो जुनप्रकार एकबाट अर्कोमा सर्छ, त्यसलाई न्यूनीकरण गर्ने दोस्रो कुरो हो । तेस्रोमा जो संक्रमित छ, त्यसका लागि व्यवस्थापन कसरी गर्ने भन्ने छ । यस्तो अवस्थामा जुनसुकै प्याथीले पनि अहिले गर्ने भनेकै यही मात्र हो । त्यसर्थ अहिले ज्वरो आयो भने त्यसलाई कम गर्ने, शरीरका महत्वपूर्ण अंगहरु जस्तै घाँटी, नाक, मुख र अन्य भित्री अंगहरुलाई सही हालतमा राख्ने कुराहरु अहिलेको अवस्थामा महत्वपूर्ण मानिन्छ । अहिले हामीले मुख्यरुपमा आयुर्वेदमा जुनप्रकार स्वास्थस्य स्वास्थ रक्षणम्, आतुरस्य विकार प्रशनम् ।।।‘ को सिद्धान्तअनुसार स्वास्थ्य रक्षा कसरी गर्ने भनेर नै हामीले भन्ने हो । हामी भान्छामा जुनप्रकार विभिन्न जडिवुटीजन्य खानेकुरा वा औषधिहरु प्रयोग गर्दछौँ, ती वास्तवमा अत्यन्तै उपयोगी छन् । जस्तो हामीले भान्छामा प्रयोग गर्ने बेसारमा एन्टी भाइरल वा एन्टी ब्याक्टेरियल प्रोपर्टी रहेको कुरालाई आधुनिक अनुसन्धान पद्धतिहरुले समेत पुष्टि गरिसकेका छन् ।
त्यस्तै सुठो, पिपला, मरिच अर्थात् जसलाई हामी त्रिकट्टु पनि भन्छौँ, यसले पनि शरीरमा रहेको अग्निलाई सम्यक गर्दछ, अर्थात् ज्वरोलाई नियन्त्रण गर्न लाभ पुग्दछ । यसरी शरीरमा यस्ता जडिवुटीहरुले रोगप्रतिरोधात्मक क्षमता समेत बढाउनका लागि लाभ पुर्याउने गर्दछन् । यी चीजहरु हामी दिनहुँ प्रयोग गरिरहेका हुन्छौँ । यसरी नै हामीले तुलसी, बेसार र त्रिकट्टु मिसाएर एकप्रकारको पेय अर्थात् चियाजस्तो बनाएर पनि घरमै बसरे सेवन गर्न सकिन्छ । यस्तै हामीले आवश्यक तयारी गरेमा पनि रोगबाट बच्न र संक्रमण फैलिनबाट रोकथाम गर्न सक्छौँ ।
त्यस्तै हामीकहाँ सितोपलादी चूर्ण पाइन्छ । यो चूर्ण महसँग खाने गर्दा पनि रोग निवारण क्षमता बढाउन सकिन्छ । यो सस्तो छ, यत्रतत्र पाइन्छ । त्यस्तै हामीकहाँ गुर्जो पनि सहज तरिकाले पाइन्छ । आयुर्वेदमा यसका विभिन्न रुपहरु छन् अर्थात् आयुर्वेदमा यसलाई विभिन्न नामले चिनिन्छ । यसले रुघाखोकी, ज्वरो, सुक्खा खोकीलगायत श्वासप्रश्वास प्रणालीमा आउने समस्यालाई समाधान गर्न सहयोगी भूमिका खेल्दछ । त्यस्तै घरमै बसेर सुन्टीजल अर्थात् सुठोलाई पानीमा पकाएर दैनिक दुई तीन पटक सेवन गर्ने गरियो भने पनि ज्वरो, रुघाखोकीलगायत श्वासप्रश्वासका समस्याहरुबाट बाँच्न सकिन्छ । यी त घरमै बसेर गर्नसक्ने विधिहरु भए । त्यस्तै वाहिर पसलमा पाइने गुर्जो र गुर्जोबाट बनेका ट्याब्लेट, क्याप्सुल, सिरपजस्ता आयुर्वेदिक औषधिहरुको सेवनबाट पनि महामारीलाई दूर राख्न सकिन्छ ।
(समय सन्दर्भ पाक्षिकका सम्पादक डिल्लीराम भट्टराईले औषधि व्यवस्था विभाग, आयुर्वेद शाखाका डा. सन्तोष ठाकुरसँग लिएको अन्तर्वार्तामा आधारित भएर तयार पारिएको विशेष रिपोर्ट)
१० वैशाख २०७७
यो पनि पढ्नुहोस,
प्रतिक्रिया