तिब्बत सरकारको तर्फबाट अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रियो

तिब्बत सरकारको तर्फबाट अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रियो

कोरोना भाइरस विरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले स्वास्थ्य मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई उक्त सामग्री हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

कोरोना रोकथामसँग सम्बन्धित करिब सवा ८ करोड रुपैयाँभन्दा धेरैको स्वास्थ्य सामग्री नेपालले बुझेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका हुन् ।

सहागता सामग्रीमा १० हजार थान एन–९५ मास्क, १० हजार थान पीपीई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, पीसीआर मेसिन दुई थान, २० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप लगायत छ ।

चैत २८ गते तिब्बत सरकारको विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री ल्हासा हस्तान्तरण गरेकी थिइन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यो चरणमा नेपाल ल्याइएको स्वास्थ्य सामग्री अनुदानमा पठाइएको हो ।

चिनियाँ दूतावासको विज्ञप्तिमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाललाई चीनको सद्भाव र सहयोग सधैं रहने उल्लेख गर्दै आगामी दिनमा सहकार्य र समन्वय बढाउँदै   नेपाललाई सहयोग गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको छ ।