पृथकतावादी गतिबिधि त्याग्दै सिके राउत, प्रम ओलीसँगै सम्बोधन गर्दै 

पृथकतावादी गतिबिधि त्याग्दै सिके राउत, प्रम ओलीसँगै सम्बोधन गर्दै 

काठमाडौं । मधेश छुट्टै प्रदेश हुनुपर्ने माग राख्दै पृथकतावादी गतिविधि गर्दा पटक पटक हिरासत र जेल परेका सिके राउतले अन्ततः अखण्ड नेपाल स्वीकार गरी पृथकतावादी गतिबिधि परित्याग गर्ने भएका छन् ।

आज दिउँसो १ बजे राजधानीको सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओली र राउतले संयुक्त रुपमा सम्बोधन गर्दै पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने कार्यक्रम तय भएको नेकपा एक नेताले झिल्कोलाई बताए ।

राउतसँग नेकपाको बिगत दुई महिनादेखि वार्ता भइरहेको र उनले स्वतन्त्र मधेशको अभियान छोड्ने प्रतिबद्धता जनाएकाको ती नेताको दावी छ । 

सिके राउतले स्वतन्त्र मधेश गठबन्धनसमेत आजैबाट विघटन गर्ने छन् । राजनीतिक मूल धारमा आउन लागेका राउत नेकपामा प्रवेश गर्न लागेको हुन् कि भन्ने आशंका राजनीतिक बृत्तमा सुरु भएको छ ।

नेपालको सार्वभौमिकतालाई चुनौती दिँदै स्वतन्त्र मधेशको अभियानमा लागेका सिके राउतलाई सर्बोच्च अदालतले थुनामुक्त गर्ने बिहीबार आदेश  दिएको थियो । 

तर, सँगै सांसद पदको सपथ लिइसकेका रेशम चौधरीलाई भने जन्म कैदको सजाय सुनाइएको छ । यी दुई मुद्धामा एकैसाथ फैसला आउनु संयोगमात्र मान्न नसकिने विश्लेषकहरुले अथ्र्याएका थिए ।

यी दुईका मुद्धाको सरोकार न्यायिक निरुपणको अर्थमा एकै प्रकृतिका होइनन् । चौधरी फौजदारी अभियोग लागेका पात्र हुन भने राउत देश विभाजन गर्न खुलेआम अभियान गर्दै हिँडेका पात्र हुन ।