आफन्तसँग डराउने समय 

आफन्तसँग डराउने समय 

पद्मप्रसाद शर्मा 

एकान्तवास आरम्भ भएपछि प्रदेश पाँचका सबै जिल्लाका साथीहरुसँग मोवाइल मार्फत सम्पर्क गरें । साथीहरुसँग जीवन्त सम्पर्क राख्नु पहिलो कर्तव्य सम्झिएँ । दोश्रो उहाँहरुको हालखवर जानकारी पाउने । सञ्चो विसञ्चो सबै जान्नका लागि सम्पर्क गर्न आवश्यक थियो । तेश्रो उहाँहरुले विताएका दिनहरुको जानकारी लिने र त्यसबाट आफूले केही सिक्न सकिने साथै कतै साथीहरुमा नैराश्यता छाएको भए उत्साह भर्नुु आदि कारणहरु थिए । गुुल्मी,पाल्पा,रोल्पा,रुकुुमदेखि वाँके, बर्दिया लगायतका जिल्लाका जति पनि साथीहरुसँग सम्पर्क गरियो सबै साथीहरु केही न केही कार्यमा लागेको कुरा सुनाउनुु भयो । उहाँहरुको खवर सुन्दा वास्तवमा मेरो मनमा ऊर्जा थपिएको महसुुस भयो ।  

हरेक जिल्लामा सम्पर्क गर्ने क्रममा दाङ जिल्लाभित्रका देउखुरी उपत्यका र दाङ उपत्यकामा बढ्ता सम्पर्क भयो । यसअघिको आलेखमा मैले धेरै साथीहरुको नाम समेत उल्लेख गरिसकेको छु । देउखुुरीमा दर्जन बढी साथीहरुसँग सम्पर्क भयो भने दाङमा त्यो भन्दा अझ बढी साथीहरुसँग सम्पर्क गरियो । यसै सन्दर्भमा भन्नुपर्दा मैले आफ्नै नातेदारसँग खासै सम्पर्क गरिन । 

मैले भावनात्मक सम्वन्ध गाँस्न चाहें । यस्तो खालको सम्पर्कले साथीहरुमा नयाँ ऊर्जा आएछ । कतिपय साथीहरुले आफ्नै जिल्लामा समेत दाङबाट साथीले सम्पर्क गरेको भनेर चर्चा पनि चलाउनु भएछ । मलाई साथीहरुको माझमा चर्चा चलाउनुु भन्दा पनि उहाँहरुमा यो विश्वव्यापी संक्रमणको रुपमा आएको कोरोना भाइरसबाट नतर्सनुुहोस्, यस अवसरमा आफूलाई केही न केही सिर्जनशील कार्यमा लगाउनु सक्नुुहोस् ताकि आफू पनि व्यस्त रहन सक्नुहोस् साथै केही सिर्जना समेत तयार हुन सकोस भन्ने नै हो । पाल्पामा प्रलेसका वर्तमान अध्यक्ष रामप्रसाद अर्याललाई पहिलो सम्पर्क गरेको थिएँ । 

उहाँले आफ्नो साथीहरुसँग फोन सम्पर्कको कुराबाट आफू अति उत्साहित भएको कुरा दर्शाउनु भएछ  । मैले यहाँबाट सम्पर्क गरिसकेपछि त्यसको ऊर्जाले उहाँले धेरै साथीहरुलाई सम्पर्क गर्नुु भएछ । उहाँले सम्पर्क गरेर यहाँको खवर सुनाउँदा मेरो मनमा पनि उत्साह थपियो । सानो झिल्कोले ठूलो डढेलो लगाउँछ भने जस्तै पाल्पामा रहनुभएका हाम्रा प्रगतिशील साहित्यकारहरुका माझमा यसले राम्रो प्रभाव छोड्न सफल भएको खवरले मेरो खुुशीको सीमा रहेन । वास्तवमा हामीले हरेक साथीहरुमा ऊर्जा भर्न जान्नु पर्दछ र उत्साह थप्न सक्नुपर्दछ । यो पनि एउटा यस्तो एकान्तवासको अवसरमा साथीहरुलाई ऊर्जा भर्न सक्नु भनेको राम्रो कुरा हो भन्ने महसुस् गरें । 

आफन्त हुनका लागि नाताको सम्वन्ध भन्दा पनि भावनात्मक सम्वन्ध बलियो हुुन आवश्यक छ भन्ने लाग्छ । नाताको सम्वन्धले धेरैले धेरैपटक धोका खाएका उदाहरणहरु छन् । तर, भावनात्मक सम्वन्धले एकले अर्कालाई धोका दिंदैन भन्ने कुरा निकै जनाबाट सुन्न पाइन्छ । नाताले नजिक रहेकाहरुमध्येमा एक हिस्सा उसकै विपक्षमा रहेका हुन्छन् । अर्को हिस्सा मुखमा राम तर वगलीमा छुुरा भएका पनि हुन्छन् । धेरै जनाले आफन्तहरुबाट अपमान पनि खेपेको सुुन्न र देख्न पाइन्छ । तर, जहाँ भावनात्मक सम्वन्ध राम्रो हुन्छ त्यहाँ कहिल्यै अपमान खेप्नु पर्दैन । नजिकका नातेदारसँग पनि भावनात्मक सम्वन्ध हुनुपर्दछ । 


मेरा नातेदार खराव भएका कारणले मैले सम्पर्क नगरेको भने होइन । कोही त्यो कोटीमा पर्न पनि सक्छन् । होइन छैनन् भन्ने होइन तर मैले भावनात्मक सम्वम्ध जीवन्त हुन्छ भन्ने ठानेर नै हरेक जिल्लामा रहनु भएका साथीहरुसँग सम्पर्क गर्न चाहेको हुँ । अर्को बलियो कारण भनेको मेरा आफन्तहरु आफन्त नै हुन तर मैले अन्य मित्रहरु बढाउनुु पर्छ भन्ने ठानेर पनि नातेदारहरुसँग कममात्र सम्पर्क भएको हो । अर्को गुुह्य कुरा भनेको यतिवेला नजिकका आफन्तहरु आफ्ना घरमा आउन चाहे भने नाई भन्ने अवस्था छ । जसलाई आफ्नो घरमा नाई भन्ने अवस्था छ उनीहरुलाई के को लागि सम्पर्क गरिराख्ने ? 

भावनात्मक सम्वन्ध भएकाहरु भन्दा नजिकका नातेदारहरु जो कुरा बुुझ्न चाहनुहुन्न उहाँहरु विभिन्न वहानामा घरमा प्रवेश गर्न चाहने पनि हुनसक्छ । यसको परिणाम के हुन्छ ? जवकि राज्यले कोरोना भाइरसबाट बच्नका लागि उत्तम विधि भनेको यही लकडाउन अर्थात एकान्तवास हो भनेको छ । यतिविधि भन्दै गरेको हरेक नागरिकले सुनेका छन् । तर   यसको उलंघन गर्दै  बाटामा र पसलहरुमा त्यो लागेको भिड देख्दा मेरा नातेदार यस भन्दा कति फरक होलान ? भन्ने लाग्छ ।  मेरा नातोदारहरु पनि यही समाजका उपज त हुन् । शहरमा बस्ने र आफूलाई अति सभ्य सम्झनेहरुको दुुर्दशा देख्दा आफैंमा आश्चर्य लागेर आउँछ । त्यो भिड देखेर आवश्यक सामग्री खरिद नगरेर म निकै पटक फिर्ता आएको छु । मलाई लाग्छ यही भिडभित्र मेरा धेरै नातेदारहरु होलान उनीहरुको वाह्र दिनसम्म लकडाउन पालना गरेर घरमा परिवारसँग मात्र रहे तर तेह्रौं दिनका दिन उनीहरु यस्तै भिडमा ठोक्किन पुुगे भने त्यो बाह्र दिन एकान्तवासमा बसेको सार के भयो ? 

आफन्तहरु वा नातेदारहरुसँग भेट हुँदा खुुव रमाउनु पर्ने हो तर हामी रमाउन सकेका छैनौं । कोही नजिक आयो भने तर्सने समय आएको छ । यो समय कुनै जात÷थरका मानिसले ल्याएको होइन । पहिलो त प्रकृतिले यो प्रतिदिन फिंजाइ रहेको छ दोश्रो हामीले देखेका ती भिडका मानिसहरुको मतिले निम्त्याएको हो । अनजानमा यो एक जनाबाट अर्कोमा प्रवेश गरेमा त्यो क्षम्य होला तर जानाजान त्यो भिडमा आफूलई बहादुरी देखाउनका लागि ठोक्किन लैजानेहरुबाट कोरोना फैलन गयो भने त्यो क्षम्य हुँदैन । हुन त हामीले क्षमा नगरेर के गर्ने ? अहिले उदयपुरको घटनाले यही कुराको पुुष्टि गरेको छ । 

उनीहरु जथाभावी नहिंडेर आफूले आफूलाई शंकाले हेरेर आफै एकान्तमा बस्ने र सामजिक दूरी कायम गरेको भए उदयपुुरले यस्तो खालको त्रासदी घटना भोग्नुपर्ने थिएन । उदयपुुरमा भएको घटना प्रतिनिधिमूलक घटना हो । यो त नेपालभर हामीले देखाएको बहादुरीले पुष्टि गरेर देखाउने छ । एउटाको कमजोरीले हजारौंको ज्यान जोखिममा पर्न जाने भएकाले यस्तो अवस्थामा बहादुरी देखाउने कुुचेष्टा गर्नु सबैका लागि दुुर्भाग्य हो । यसले नागरिकमा त्रास थप्ने र राज्यको अवस्था अस्तव्यस्त हुने भइरहन्छ । आफन्तसँग डराउने यो समयमा भावना टाढैबाट गाँसांै । यतिवेला आफन्त र नातेदारको कुरा गर्ने समय विल्कुल होइन ।  १२ वैशाख २०७७