कुरै नबुझी उफ्रने नेता-कार्यकर्ताको नाममा ...

कुरै नबुझी उफ्रने नेता-कार्यकर्ताको नाममा ...

लेखनाथ न्यौपाने

द्वन्द्वात्मक भौतिकवाद यसकारण पढ्नुपर्दछ कि कसैले वा आफूले ठूलाबडा र जान्ने ठानेको मान्छेले अथवा नेताहरुको पनि नेता भनिएको व्यक्तिले नै किन नहोस उसले भनेको विषय कति सही छ ? कति सान्दर्भिक छ ? कति प्रक्रियागत छ ? भनेर छुट्याउन सकियोस् ।

हामी त कस्ता भयौ भने अध्यादेश आयो ‘एकदम ठीक भयो भनेर उफ्रिहाल्छौं । उत्ति नैखेरै त्यो फिर्ता हुन्छ, 'यो पनि सही छ' भनेर उनै पात्र अझ बढी उफ्रन्छौं । अथवा नेताले आज भन्छ कि कांग्रेससँग एकता गरियो । हामी ‘हाम्रो नेता महान, क्रान्ति भन्या यस्तो हुन्छ’ भन्छौं । भोलिपल्टै त्यही नेताले ‘काँग्रेससँग एकता गरेर जितिने भएन, फलानो वाम पार्टीसँग एकता नै गरिहाल्ने भइयो’ भन्छ । हिजोको निर्णयलाई  ‘क्रान्ति भनेर उफ्रने’ त्यही व्यक्ति ‘आजको निर्णयलाई पनि क्रान्ति भन्छ र जिन्दावादको नारा लगाउँछ ।’

किन, कसरी, के आधारमा वा कुन र कसको स्वार्थमा हिजो र आज फरक निर्णय भनेर रौं जति पनि प्रश्न गर्दैनौं ? कसैले प्रश्न गर्यो भने ‘हाम्रो नेताको विरोध गर्ने भनेर पूर्वाग्रह साध्छौं र तथाकथित नेताको कान फुक्न पुगिहान्छौं ।’ अनि कसरी बन्छ कम्युनिस्ट पार्टी बलियो र हामी कसरी बन्दौ कम्युनिस्ट नेता कार्यकर्ता ? विचित्र छ हाम्रो द्वन्द्ववादको चित्र ! (अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको फेसबुकबाट साभार) २०७७, १२ बैशाख