लकडाउन लम्बिएपनि केही खुकुलो हुँदै
१३ बैशाख, काठमाडौं । आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउने वा नलम्ब्याउने बारेमा ठोस निर्णय नगरेतापनि लकडाउनले निरन्तरता हुने भएको छ । यद्यपी कम प्रभावित ठाउँहरुमा लकडाउनको प्रकृति केही खुकुलो हुने संकेत मिलेको छ । जोखिमको अवस्था हेरेर कोरोना भाइरस कम प्रभावित ठाउँहरुमा लकडाउन खुकुलो बनाउँदै लैजाने तथा अधिक प्रभावित ठाउँहरुलाई सिल गरी लकडाउन थप प्रभावकारी बनाइने बनाइने भएको छ ।
कम प्रभावित ठाउँहरुमा लकडाउन केही खुकुलो पार्दै जनजिवन सहज बनाउँदै लगिने श्रोतले बतायो । अबको लकडाउनमा उद्योग, कलकारखाना, विकास निर्माणका कामहरुमा न्यूनतम मापदण्ड अबलम्बन गरेर भएपनि सुचारु गरिने भएको छ । उच्चस्तरीय समन्वय समितिमा आगमनलाई रोकी उत्पादन र विकास निर्माणलाई सुचारु गरिनुपर्ने अधिकांश सदस्यहरुको सहमति रहेको थियो ।
आज उच्चस्तरीय समन्वय समितिले एक महिनासम्म लकडाउनको समिक्षा तथा अबको मोडालिटी के गर्ने विषयमा भने छलफल गरेको थियो। बैठकमा लकडाउनको विभिन्न मोडालिटीबारे छलफल भएको थियो।
प्राप्त जानकारी अनुसार विगतको लकडाउनकै कारणले कोरोना भाइरस नियन्त्रणमा आएको निश्कर्ष निकालिएको छ । बैठकमा सहभागीहरुले विभिन्न मोडालिटी बताएका थिए। तर, समितिमा अबको लकडाउन रणनीति के गर्ने भन्ने कुनै निर्णयमा पुगेको छैन।
विभिन्न मोडालिटीमा छलफल भएको र समितिले तयार पारेका मोडालिटीबारे निर्णय गर्न भने मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वको टीमलाई दिइएको छ।
बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ। यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो। लकडाउन लम्ब्याउने भन्ने विषयमा आगामी मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ ।
प्रतिक्रिया