कोरोना भाईरसबाट विश्वभरमा ४९ नेपालीको मृत्यु, करिब १ हजार ८ सय जनामा संक्रमण

कोरोना भाईरसबाट विश्वभरमा ४९ नेपालीको मृत्यु,  करिब १ हजार ८ सय जनामा संक्रमण

लण्डन । विश्वभर फैलिएको कोरोना भाईरस महामारी (कोभिड–१९) बाट शनिवार (२५ अप्रील २०२०)  साँझ सम्म मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैर आवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना  गैर आवासीय नेपालीहरु कोरोना भाईरसबाट संक्रमित भएका छन् ।
 
विश्वभर छरिएका गैर आवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित छन् । नेपालमा ४९ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ भने १२ जना कोरोना भाईरस मुक्त भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना भाईरस संक्रमण भएका गैर आवासीय  नेपाली मध्ये ४ सय ३४ जना कोरोना भाईरस मुक्त भएको सो समितिले जनाएको छ ।
 
संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, बेलायत ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ जना संक्रमित रहेको समितिले जनाएको छ ।
 
समितिले विदेश स्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना भाईरस संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।  

यसै बीच कोरोना भाईरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको  सहयोगार्थ लागि गैर आवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ । गैर आवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार  कोरोना भाईरस महामारी पछि ४१ देशमा रहेका संघका शाखाहरु मार्फत ९ सय जना स्वयसेवक परिचालन गरेको छ ।  

कोरोना भाईरस संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैर आवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ । डा. शर्माका अनुसार ७० जना भन्दा गैर आवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना भाईरस संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण  शुरु भए लगत्तै  संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा  कोभिड -१९ उच्चस्तरीय समिति गठन गरी काम अघि बढाएको थियो  ।