एक महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी
काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण जोखिम तथा लकडाउनले करिब एक महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई ल्याउने तयारी थालेको छ।
गृह मन्त्रालयले भारतमा रहेका नेपाली ल्याउनका लागि तयारी अवस्थामा रहने निर्देशन दिएपछि भारतसँग सीमा जोडिएका जिल्लाले भारतीय पक्षसँग समन्वय गरी नेपाली फर्काउने प्रक्रिया शुरु भएको हो ।
भारतीय जिल्ला पिथौरागढसँग जोडिएको दार्चुलामा सबैभन्दा धेरै नेपाली क्वारेन्टाइनमा बसेकाले अहिले त्यहाँबाट फर्काउन पहल शुरु भईसकेको छ। पिथौरागढको धारचुला, बलुवाकोट लगायतका विभिन्न क्याम्पमा एक हजार भन्दा बढी नेपाली क्वारेन्टाइनमा बसेका छन्। उनीहरुले लकडाउन शुरु भएदेखि नै घर जान पाउनुपर्ने माग गर्दै आएका थिए। त्यतिबेलै उनीहरुले स्वदेश फर्किनु पाउनुपर्ने भन्दै सीमामा नाराबाजीसमेत गरेका थिए।
लकडाउनकै बेला शुरुमा २ सय जना नेपाली आउन दिएर घर पठाए पनि त्यसयता माथिको आदेश नभएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा पुल खोल्न चाहेको थिएन। लकडाउनको अवधिमा अढाई सय भन्दा बढी त महाकाली नदीमा लुकिछिपी पौडिएर नेपाल आइसकेका छन् भने पछिल्लो पटक पटक ९ जना पौडिएर आएका थिए। उनीहरु सबैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ।
एक साता पहिले आमा बितेर क्वारेन्टाइनमै किरिया बसेका दार्चुलाका वासुदेव भट्टलाई भने चौतर्फी दबाबपछि नेपाल ल्याइएको थियो। आमा बितेको छैटौं दिनमा उनी घर आएका थिए । अझै १५ सय भन्दा बढी मानिस क्वारेन्टाइनमा छन्। जसमा १ हजार दार्चुला सीमामा पर्छन् भने ५ सय बैतडीको सीमा क्षेत्रमा पर्छन्।
भारतीय क्वारेनटाइनमा बसेकाहरु भने यसरी राखिएको सन्तुष्ट छैनन् । उनीहरुले भेडाबाख्रा खाँदे जसरी राखेको र १४ दिन बस्ने भनेर एक महिना राखिएकोमा सरकारसँग असन्तुष्ट छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नेपाली ल्याउने तयारी गर्न मौखिक रुपमा निर्देशन आएको बताए । ''मौखिक रुपमा तयारी अवस्थामा रहनुस् भन्ने निर्देशन छ। हामी निर्णय गर्दछौं। भारतसँग द्वीपक्षीय समझदारी गरेर निर्णय गर्ने भन्नेछ उनले भने, हामी तयारीका लागि सर्वदलीय बैठकमा छौं। क्वारेन्टाइनमा राख्ने, समन्वय कसरी गर्ने भन्ने छलफल भइरहेको छ। अब हामी केन्द्रको स्पष्ट निर्देशनको पर्खाईमा छौं।''
उक्त नाकामा १४ जिल्लाका नागरिक नाकाबाट स्वदेश आउन नपाएर भारतीय क्वारेन्टाइनमा बस्न बाध्य छन् । यसैविच नौतनवा क्वारेन्टाइनमा रहेका नेपालीहरु भने हिजै रुपन्देहीको जमुनाह नाकाबाट १ सय ८१ जना र रुपन्देहीको बेलहिया नाकाबाट १ सय १ जना घर फर्किएका छन्।
प्रतिक्रिया