केपी, प्रचण्ड र माधवका विकल्प

केपी, प्रचण्ड र माधवका विकल्प


झिल्कोे टिप्पणी

असामयिक अध्यादेश जारी र खारेजीको आवरणमा सतहमा पोखिएको सत्तारुढ नेकपाको आन्तरिक शक्ति संघर्षले सो पार्टी जता पनि जुनसुकै मोडमा जान सक्ने संकेतहरु देखाएको छ । मौजुदा अवस्थामा सरकार र पार्टी नेतृत्व यही तालले अघि बढ्न नसक्ने स्पष्ट भएको छ । अबका सम्भावनाहरु के हुन सक्छन् भन्ने बहसले पार्टीभित्र र बाहिर धेरै सम्भावनाहरु देखाएको छ । तर यसै हुन्छ भन्न चाहिं सरकार र पार्टी नेताहरुको आगामी कदमहरु पर्खनुपर्ने स्थिति छ । अध्यक्षद्वय केपी ओली भर्सेज प्रचण्ड जस्तो देखिएको वर्तमान विवादमा अब मध्यधारका भनिएका माधव नेपालहरुको भूमिका पनि स्पष्ट हुन सक्नेछ । के हुन सक्ला त नेकपाको आन्तरिक समीकरण वा सम्भावनाहरु ?

प्रधानमन्त्रीको विकल्पहरु

१. प्रधानमन्त्री तथा एक अध्यक्ष केपी ओलीले नयाँ परिवशेमा मार्गप्रशस्त गर्न राजीनामा दिन सक्छन् वा आजसम्म जे जे भयो भयो, अब उप्रान्त पार्टीको निर्देशनमा सरकार चल्छ भन्ने विश्वास शीर्ष नेतृत्वलाई दिलाउँदै पुनः अध्यक्ष र सरकारको जिम्मेवारीमा निरन्तर हुन सक्नेछन् । तर, उनले अहिलेसम्म जसरी आफूलाई जे ठीक लाग्यो, त्यही गर्न भने पाउने छैनन् । पार्टीले सरकारमाथि पूर्णः लगाम कस्नेछ । सरकार पार्टी मातहत आउनेछ । तर, त्यसका लागि उनले पावर शेयरमा नयाँ सम्झौता गर्नुपर्नेछ । 

२. निजी स्वभाव वा इगोका कारण पार्टीले भनेको पनि मन्दिन, म मेरै ढंगमा चल्छु भन्ने अडान, हठमा नै प्रधानमन्त्री रहन पनि सक्छन् । यसो गर्दा सरकार विरोधी पार्टीभित्रको मोर्चा झन बलियो हुँदै उनलाई थप अप्ठ्यारो पार्न सक्छ । 

३. पार्टीभित्र पूर्व एमालेको कित्तालाई थप एकीकृत र बलियो बनाउन उनले आफ्नो उत्तराधिकारीमा वरिष्ठ नेता माधव नेपालसँग नयाँ समझदारी कायम गरेर नेपाललाई पार्टी अध्यक्ष दिने र आफू प्रधानमन्त्रीमा निरन्तर रहने प्रयास गर्न सक्छन् । 

४. पार्टीको सम्भावित थप घेराबन्दी तोड्न प्रधानमन्त्रीले मध्यावधि चुनावको घुर्की र एकहदसम्म प्रयोग गर्ने जोखिम पनि उठाउन सक्छन् । मध्यावधि चुनावदेखि सबै उनका कदम अदालती विवादका विषय बन्न सक्छन्, तर अन्तरिम सरकार प्रमुखका रुपमा उनैले सरकार चलाउने अवस्था पनि बन्न सक्छ ।

५.पार्टी विभाजन गर्नेदेखि आफू सत्तामा टिकिरहन जायज, नाजायज जुनसुकै हर्कत पनि उनले गर्न सक्छन् । अध्यादेश फेल भएका कारण उनले तत्काल पार्टी आफ्नै नेतृत्वमा फुटाउने संभावना कमजोर छ, तर मर्ता क्या नही कर्ता गर्न प्रधानमन्त्री उत्तेजित हुन सक्छन् । पार्टीको विशेष महाधिवेशन माग गरेर, वा अन्य जुनसुकै बखेडा झिकेर सरकार र अध्यक्षमा बसिरहने नीति पनि लिन सक्छन् । 

अध्यक्ष प्रचण्डका विकल्प 

एक अध्यक्ष प्रचण्डका लागि यो बेला धेरै संवेदनशील र विवेकी हुनुपर्ने दबाब छ । उनले एकातिर प्रधानमन्त्रीको स्वेच्छाचारी प्रवृत्तिमा अंकुश लगाउनु छ भने साथमा पार्टी एकता थप बलियो बनाएर शक्तिशाली पार्टीको अध्यक्ष, सत्ता चलाउन सक्ने योग्यता प्रस्तुत गर्नुछ । आफू हारेर पनि पार्टी एकता र सत्तालाई जिताउनुपर्ने चुनौति र अवसरमा छन् प्रचण्ड । यसका लागि उनीसँग निम्न विकल्प हुन सक्छन्ः

१.प्रधानमन्त्री तथा समकक्षी ओली सच्चिन प्रतिवद्ध भएको हदसम्म प्रधानमन्त्रीले मार्ग प्रशस्त गरेमा प्रचण्डले फेरि एकपटक कम्प्रमाइज गरेर ओलीलाई अन्तिम मौका दिन सक्छन् । किनकि आफूलाई विश्वास लागेपछि हदैसम्म लचक र उदार हुने प्रचण्ड शैली छ ।

२. पार्टी फुटाउने तहको गल्ती प्रचण्डले गर्ने छैनन् बरु, पार्टीभित्र आफ्नो प्रभाव अझ बढाउन उनले पूर्व एमालेका धेरै नेता, कार्यकत्र्ताको मन जित्ने थप प्रयास गर्न सक्छन् ।

३. प्रधानमन्त्री नयाँ शक्ति शेयर गर्न सहमत भएमा उनले माधव नेपाललाई पार्टी अध्यक्ष दिलाएर नेपालसँगको सम्बन्ध थप बलियो बनाउन सक्छन् । माधव नेपाल र आफू पार्टी अध्यक्ष र ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएर पार्टी मातहत सरकार चल्ने विधि बसाउन सक्छन् ।

४. ओलीले हठ नत्यागेर सरकार पनि अध्यक्ष पनि नछाडेमा उनले ओलीलाई संरक्षक रहने गरी माधव नेपाल र आफूमध्ये एकजना पार्टी अध्यक्ष र अर्को प्रधानमन्त्री बन्ने नयाँ प्रयोग पनि गर्न सक्छन् । यसो गर्दा पार्टीमा प्रचण्ड नेपाल खेमा बलियो बन्छ भने ओली प्यानललाई पनि फेससेभ गरेर पार्टीमा रहन सहज अवस्था सिर्जना हुनेछ ।

५.ओलीले अडान नत्यागेर सरकार र पार्टी अध्यक्ष दुबै नत्याग्ने र आफ्नो विगतको कार्यशैल नत्यागेमा उनले ओलीलाई अल्पमतमा पारेर सरकार र पार्टी अध्यक्ष दुबैबाट हटाइ दिन पनि सक्छन् । यसो गर्दा पार्टीमा अर्को खालको संकट आउन सक्ने भएकोले उनले यो निर्णयमा जान नपर्ने खालको अन्य लचकता पनि देखाउन सक्छन् ।

माधव नेपालका विकल्प

१. माधव नेपाल अहिले नेकपाको सरकार भर्सेज पार्टी बिबादमा ओलीतिर लाग्ने कि प्रचण्डतिरै अझ धेरै आडभरोसाका साथ अघि बढ्ने भन्ने मझधारमा उभिएका छन् । उनले ओलीतिर लागेर पूर्व एमाले कित्ताको ओलीको उत्तराधिकारी हुने मौका पनि छ । तर, यसमा उनलाई पूर्व एमालेहरुले साथ दिने सम्भावना कमजोर छ । आफूलाई तत्काल लाभ भएमा अरुको बारेमा धेरै नलड्ने भएकाले नेपालसँग उनका पूर्व हितैसी र सहकर्मीहरु टाढा भइसकेका छन् ।

२. माधव नेपालले प्रचण्डसँग मिलेर एनी हाऊ ओलीलाई हटाउको नयाँ अडान लिन सक्छन् । किनभने ओली पीडित हुनुको बदला लिन उनलाई यो स्वर्णिम मौका हो । उनले ओलीसँग मिल्दा पार्टी अध्यक्ष मात्रै पाउन सक्छन् तर प्रचण्डसँग मिल्दा बलियो हुन सक्छन् ।

३. अब या त ओली या त प्रचण्डतिर भन्ने आफ्नो वारपारको लडाईंमा नेपाल खुलेर आउनुपर्ने चेपुवामा छन् । प्रचण्डसँग मिल्दा सरकार प्रमुख वा पार्टी अध्यक्षमध्ये एकमा आफ्नो वर्चस्व हुने भएकोले उनले प्रचण्डसँग खुलेरै अरु बलियो एकता कायम गरी ओलीसँग लामो अपमानको बदला लिन सक्छन् ।

४.ओलीलाई संरक्षक बनाएर आफू र प्रचण्डले पार्टी र सरकार चलाउने नयाँ समझदारीका लागि ओलीलाई सहमत गराउने गरी भूमिका खेल्न पनि सक्छन् ।

ओली, प्रचण्ड र माधव नेपाल बाहेक नेकपाको वर्तमान रस्साकस्सीमा नेता वामदेब गौतम र झलनाथ खनाल खुलेर प्रचण्डका सारथी हुन सक्छन् । उनीहरुलाई रिझाएर व्यवस्थापन गर्न प्रचण्डलाई खासै समस्या पर्ने छैन । तर, ओली र माधव नेपालतिर गौतम, खनाल दुबैको खास भरोसा हुने छैन । पछिल्लो समय वामदेव गौतमको घरमा भएको छ सचिवालय सदस्यको वैठकमा सामेल भएका कारण नेता विष्णु पौडेल पनि अब प्रचण्ड वा माधव नेपालतिर लाग्न सक्छन । 

अबको नेकपाको समीकरणमा पूर्व एमाले वा पूर्व माओवादीको छायाँ बलशाली रुपमा देखा नपर्न सक्छ । किनभने मुद्धा, विषय र नेतृत्वको काविलता हेरेर पार्टीमा नयाँ एकता कायम गर्दै सत्ता सफल बनाउनुपर्छ भन्नेमा नेकपाका धेरै विवेकशील नेता, कार्यकत्र्ताहरु सचेत रहेका छन् ।

यी सबै आन्तरिक समीकरणहरु स्वभाविक मार्गमा गएमा नेकपा कुनै पनि दुर्घटनाहरुबाट बच्न सक्छ । अन्यथा नेताहरुको लडाईंमा नेकपाले बिभाजन र दुर्घटनाको शिकार नहोला भन्न पनि सकिन्न । त्यस्तो दुर्भाग्यपूर्ण अवस्था आएमा विदेशी कठपुतलीका रुपमा नयाँ खिलराज रेग्मी जस्ता पात्रहरु सत्ताहरु पुनः जन्मने र सिंगो देशकै राजनीति नयाँ समीकरण र पुनर्गठनमा जानसक्ने सम्भावनालाई पनि नकार्न सकिदैंन । १४ वैशाख २०७७