नेकपाभित्र गहिरिँदै संकट 

नेकपाभित्र गहिरिँदै संकट 

काठमाडौं, १५ बैशाख । सरकारले जारी गरेको दुई वटा अध्यादेशलाई लिएर सत्तारुढ दल नेकपाभित्र बढेको विवाद झन् बढ्दै गएको छ। विशेष गरी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल पक्षधरले स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर समूह अप्ठेरोमा परेको छ।

प्रचण्ड–नेपाल पक्षधर स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडानमा छन् भने ओली पक्षधर जसरी पनि बैठक रोक्ने पक्षमा छ। त्यसका लागि प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहका नेतासँगको छलफललाई तीव्रता दिएका छन्। शनिबार ओलीले उपाध्यक्ष वामदेव गौतमसँग लामो छलफल गरेका थिए भने आज (सोमबार) वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् ।

पार्टीभित्रको विवाद मिलाउन केही मध्यमार्गी नेताले कोशिश जारी राखेका छन्। तर विवाद मिल्ने संकेत देखिएको छैन। ‘अहिले पार्टीभित्र देखिएको विवाद समाधान भएन भने यसले पार्टीलाई मात्रै होइन, अहिलेको व्यवस्थालाई नै अप्ठेरो पार्छ,’ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘विगतमा जनताले नेपाली कांग्रेसलाई बहुमत दिँदा कांग्रेसले बहुमत धान्न सकेन, अहिले कम्युनिष्टलाई झण्डै दुई तिहाई बहुमत दिँदा कम्युनिष्टले पनि धान्न सकेन भने भोलि जनताले कसलाई भोट दिने ?  ’

स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले पूर्व एमालेलाई एक जुट बनाएर वर्तमान समस्याको निकास खोज्ने तयारीमा छन्। तर विगतमा ओली पक्षबाट धोका र अपमान पाएको भन्दै नेपाल पक्षधर उधारो सहमति नगर्ने पक्षमा देखिएका छन्।

नेपाल पक्षधर तत्काल स्थायी कमिटी बोलाउनु पर्ने र सम्पूर्ण विषयको छलफल त्यहीँ हुनुपर्ने पक्षमा छन्।