केपी ओली र माधव नेपालबीच समझदारी बनाउने यस्तो प्रयास
काठमाडौं, १५ बैशाख । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी बढाउन दुई पक्षीय नेताहरूले पहल थालेका छन्।
दुई पक्षीय नेताहरू कोटेश्वरमा छलफल शुरू गरेका हुन्। सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएपछि नेकपाको विवाद सतहमा देखिएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल पक्षीय नेताहरूले असन्तुष्टि जनाएपछि सरकारले दुवै अध्यादेश फिर्ता गरिसकेको छ। तर, केही नेताहरूले स्थायी समिति बैठक बोलाउन माग गरिरहेका छन्।
यसैक्रममा आइतबार दिउँसो पनि नेता नेपाल निवास कोटेश्वरमा उनीपक्षीय नेताहरूले भेला गरेका थिए। अध्यक्षद्वय ओली र दाहाल तथा नेता नेपालबीच शक्ति विभाजित नेकपामा दुई नेता एक ठाउँमा आउनेबित्तिकै अर्को पक्ष अल्पमतमा पर्ने समीकरण छ। पछिल्लो समय दाहाल र नेपाल पक्षीय नेताहरू एक ठाउँमा उभिएर सरकारमाथि दबाब बढाइरहेका छन्। यसैक्रममा पूर्व एमाले नेताहरूले नेकपामा पूर्व एमालेपंक्तिलाई एक ठाउँमा उभ्याउने पहल थालेका हुन्। त्यही प्रयासस्वरूप ओली र नेपाल पक्षीय नेताहरूबीच कोटेश्वरमा छलफल भइरहेको हो।
छलफलमा ओली पक्षबाट नेकपा महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघु जी पन्त सहभागी भएको बताइएको छ। आज बिहान प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच एक्लाएक्लै करीब एक घण्टा छलफल भएको थियो।
प्रतिक्रिया