ओजोन तहमा परेको ठूलो प्वाल बन्द !

ओजोन तहमा परेको ठूलो प्वाल बन्द !

युरोपियन स्याटलाईट सिस्टम, कोपर्निकसले आर्टिक माथिको ओजोन तहमा भएको ठूलो प्वाल बन्द भएको देखाएका छ।

वैज्ञानिकहरुले गत मार्चको अन्त्यतिर सो प्वाल पर्न शुरु भएको देखेका थिए र यसलाई उत्तरी ध्रुवको न्यून तापक्रमको परिणाम मानिएको थियो। सूर्यबाट निस्किने अनेक अल्ट्राभ्वइलेट रेडियसन (स्किन क्यान्सरको एक प्रमुख कारक तत्व) बाट यही ओजोन तहले पृथ्वीलाई बचाउँछ। उक्त प्वाल हालसम्म देखिएकामध्ये सबैभन्दा ठूलो मानिएको थियो। यदि त्यो प्वाल, मानवबस्ती भएको दक्षिण भेगमा सरेको भए त्यसले मानिसहरुलाई प्रत्यक्ष असर गर्ने बताइएको छ। गत अप्रिल २३ मा कोपर्निकस अर्थ अब्र्जभेसनर स्याटलाईट सिस्टमले सो प्वाल बन्द भएको पत्ता लगाएको हो।

यद्यपि, यस्तो हुनुमा कोभिड १९ लकडाउनका कारण आएको प्रदुषणमा कमीको कुनै भुमिका नरहेको बताइएको छ। यो पोलार भोर्टेक्स (ध्रुविय क्षेत्रमा चिसो हावा प्रवाह गर्ने भवंर) को कारण भएको बताइएको छ।

यस वर्ष पोलार भोर्टेक्स एकदमै शक्तिशाली रहेको र यसभित्रको तापक्रम एकदमै चिसो रहेको बताइएको छ। यसले क्लोरोफ्लोरोकार्बनसँग मिलेर ओजोन तहलाई बिगार्ने स्ट्राटोस्फेरिक बादलको निर्माण गरेको थियो। जसका कारण ओजोन तहमा प्वाल परेको वैज्ञानिकहरुले बताएका छन्।

पछिल्लो समयमा सो भोर्टेक्स कमजोर भई टुटेको बताइएको छ।

सन् २०११ पछि पहिलोपटक उत्तरी ध्रुवको ओजोनमा यस्तो प्वाल देखिएको हो। यद्यपि, त्यो बेला देखिएको प्वाल सानो थियो। – एजेन्सी