मृतक परिवारलाई रु. तीन लाख प्रदान, घाइतेहरुको उपचार गर्ने प्रदेश २ सरकारको निर्णय

मृतक परिवारलाई रु. तीन लाख प्रदान, घाइतेहरुको उपचार गर्ने प्रदेश २ सरकारको निर्णय

जनकपुरधाम, १८ चैत । प्रदेश २ सरकारले हाबाहुरीबाट बारामा मृत्यु भएका मृतक परिवारलाई राहत स्वरुप ३÷३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

प्रदेश २ मन्त्रिपरिषदको आज विहान बसेको आपतकालीन बैठकले गए राति हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मृतक परिवारलाई राहत स्वरुप प्रति परिवार रु. ३ लाखका दरले प्रदान गर्ने निर्णय गरेको प्रदेश २ का भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
 
यस्तै घटनामा घाइते भएका सबैको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने र भत्किएका संरचनाको पुननिर्माण समेत मिलाउने निर्णय गरेको मन्त्री साहले बताए । साथै हावाहुरीबाट घाइते भएकाहरुको उद्दार र राहत बितरणमा जुट्न सुरक्षा निकाय, संघसंस्था र दातृ निकायलाई आब्हान गर्ने निर्णय भएको समेत मन्त्री साहले बताए ।
  
असिनापानीसँगै आएको हावाहुरीबाट बारामा मात्रै अहिलेसम्म ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने चार सय भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको वीरगञ्ज लगायका अस्पतालमा उपचार भइरहेको छ ।