बढ्यो चिसोः काठमाडौंको तापक्रम ०.९ डिगी, जुम्लाको माइनस ७, तराइमा लागेन घाम

बढ्यो चिसोः काठमाडौंको तापक्रम ०.९ डिगी, जुम्लाको माइनस ७, तराइमा लागेन घाम

काठमाण्डौ, १० पुस । काठमाण्डौ उपत्यकाको तापक्रम घटेको छ । बिहीबार काठमाण्डौको तापक्रम यो वर्षको अहिलेसम्मकै कम अर्थात् शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौंको खुला चौरमा सेताम्ये तुषारो देखा पर्न थालेको छ । 

उत्तर–पश्चिम हिमालबाट चिसो हावा बहँदा धेरै ठाउँको तापक्रम घटेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । बुधबार राति आकाश खुलेसँगै काठमाण्डौसहित धेरै ठाउँको तापक्रम घटेको उनले बताए ।
बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यस्तै बिहीबार बिहान डडेलधुराको तापक्रम २ डिग्री, विरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

गएको २४ घण्टामा जोमसोमको तापक्रम माइनस ३ दशमलव ५ र जीरीको माइनस ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शीतलहरको समयमा चिसोको कारण ज्यानै जानसक्ने भएकाले समयमै न्यानो कपडाको जोहो गर्न, शीतलहरको समयमा खुला समयमा धेरै नबस्न, घरबाहिर निस्कनै परे वा धेरै समय बस्नु परे न्यानो कपडा लगाउन, राति सिरक, कम्बल ओढ्न र सुत्दा छाती र टाउको अनिवार्य छोप्न आग्रह गरेको छ ।

तराईका विभिन्न ठाउँमा बिहान लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटिरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।। उहाँले तराईमा अझै पनि राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रम अझै घट्न सक्ने बताए ।