महामारी मुक्त हुने रणनीति : डा. प्रकाश ज्ञवाली

महामारी मुक्त हुने रणनीति : डा. प्रकाश ज्ञवाली

कुनै पनि रोग उत्पत्तिदेखि निवारणसम्म एकै रणनीतिले काम गर्दैन । त्यसमा पनि संक्रामक रोगको महामारी भई सकेपछि समाजमा त्यसले परेका असरहरुको अध्ययन नगरी कोरा नियन्त्रणमा लागियो भने रोगले भन्दा सामाजिक समस्याले जनतालाई आक्रान्त बनाउँछ र रोग केही होइन, मरे मरिन्छ भन्ने भावना विकास गराउँछ । 

सरुवा रोग फैलने तरिकामा व्यापक परिवर्तन आएको छ । अन्तर्राष्ट्रियस्तरमा व्यापक ओहोर दोहोर हुने कारणले पहिला जस्तो सरुवा रोग कुनै स्थानमा मात्र सीमित रहदैंन, तत्कालै एक ध्रुवबाट अर्को ध्रुव पुग्न सक्षम हुन्छ । यसरी संसारका व्यक्ति एक आपसमा जोडिँदा संक्रमण सजिलै महामारी बन्न सक्छ । विश्वका अति सम्पन्न देशहरु जहाँ सरुवा रोगका महामारी छैनन्, ती देश बढी आक्रान्त बन्दैछन् । महामारी नियन्त्रण कहिले पनि स्वास्थ्यकर्मी र चिकित्सकहरुबाट मात्र सम्भव हँुदैन । यसको लागि पहिलो शर्त हो राजनीतिक प्रतिबद्धता र जनसहभागिता । जसको लागि सामाजिक, आर्थिक, राजनीतिक, जनस्वास्थ्य, चिकित्सा, आयुर्वेद, मनोवैज्ञानिक, माइक्रोबाइलोजी, बायोटेक्नोलोजी, प्यारासाइटोलोजी, फार्मेसी, वैकल्पिक चिकित्सा, सुरक्षा, परराष्ट्र, कृषि, आपूर्ति, उद्योग, वाणिज्य, साहित्य, कला, पत्रकारिता आदि विभिन्न विधाका विज्ञहरुसँग एउटा संरचनागत प्रश्नावलीभित्र रही गम्भीर छलफल गरेर अन्तरिम नीति जारी गर्नुपर्ने हुन्छ र सबैबाट कार्यान्वयनको प्रतिवद्धता जारी गराउनुपर्दछ । 

सबैले आफ्नो तथ्यपरक तर्क राखी सकेपछि सबैको भावना समेटेर रोग नियन्त्रण नीति जारी गरिनु पर्छ । यसले गर्दा सरकारको कदमको समालोचना र सुझाव आउन थाल्छन् । सुझाव संकलन र विश्लेषणको लागि एउटा माथि उल्लेखित विज्ञहरुको समिति बनाउनुपर्छ, जसको काम सूचना विश्लेषण होस् । विश्लेषण भएको सूचनालाई आधार गरी रणनीतिहरु पुनरावलोकन गर्ने । यो अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको साथमा स्वतः जनता सहयोगीको रुपमा आउँछन् । अहिले जस्तो हतार र हतासमा काम गर्नुपर्ने छैन । यसको लागि सर्वपक्षीय हस्ताक्षरसहितको एउटा आचारसंहिता जारी गरिनु पर्दछ ।

नेपाल, भारत, चीनजस्ता धेरै देशमा स्वास्थ्यका अन्य विधा जस्तै आयुर्वेद, योग, ध्यान, होमियोप्याथी, प्राकृतिक चिकित्सा, आम्चीजस्ता विधाहरुमा ठूलो जनसंख्याले गहिरो गरी विश्वास गर्छन् र ती विधाका स्वास्थ्यकर्मीहरुले दिएका जानकारीहरुलाई पालना गर्छन् । अहिलेको महामारीमा पनि अत्याधिक जनसमुदायले आयुर्वेदमा आधारित जडिबुटीको उपयोग गरी आफू सुरक्षित भएका छन्, जसले गर्दा रोग लागे पनि घरमै निको भएका प्रमाण देखिएका छन् र अस्पतालका रोगी पनि जटिल अवस्थामा पुगेका छैनन् । त्यसैले त्यस्ता विधाका चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गरी जनचेतना र उपचार बढाउनु दोश्रो शर्त हो ।

महामारी नियन्त्रणमा लाग्दै गर्दा गाँस, बास र कपास, शिक्षा, स्वास्थ्य आदिका अन्य सामाजिक मुद्दालाई नजरअन्दाज गरियो भने हाम्रो सम्पूर्ण प्रयास बालुवामा पानी हाले सरह हुनेछ । त्यसैले यी मुद्दाहरुलाई समेत सम्बोधन गर्दै जानुपर्दछ । 

 

(समय सन्दर्भ पाक्षिकका सम्पादक डिल्लीराम भट्टराईले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. ज्ञवालीससँगको कुराकानीबाट तयार गरिएको रिपोर्ट । समय सन्दर्भ वैकल्पिक चिकित्सा क्षेत्रमा निकै स्थापित पत्रिका हो । )