Techie IT
  • १२ मंसीर २०८०, मंगलबार
Jhilko

प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड


काठमाण्डौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले गएको पुस १० गते आफू प्रधानमन्त्री बनेयता थुप्रै राम्रा काम भएको र नागरिकले अनुभव गर्ने गरी कैयौँ काम गर्नका लागि विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरे ।

राहदानी बनाउन दुःख कम भएको, ठूला लाइन हुने संस्थामा लाइन कम भएको, नेपाल प्रहरीको बढुवामा पहिलो पटक वरीयताअनुसार नै बढुवा भएको, कर्मचारी सरुवा नियमअनुसार भइरहेको, ठूला विकास निर्माणका आयोजनाको कामलाई गति दिएको, आफैँले हरेक दिन बेलुका विभिन्न आयोजना प्रमुखसँग प्रगतिबारे ब्रिफिङ लगायतका काम गरेको प्रचण्डको भनाइ छ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भताभुङ्ग पारेका कामलाई आफूले व्यवस्थित गराउने प्रयास गरिरहेको उनले दाबी गरे ।

यस्तै बेपत्ता छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई संसदमा पेस गरेर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पहल गरेको भन्दै प्रचण्डले यसलाई कुनै दलको मात्रै नठानेर देशकै मुद्दाका रूपमा हेर्न आग्रह गरे ।

गएको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पुस २६ गते विश्वासको मत लिएका थिए। त्यति बेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिन लागेका हुन् ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट