युवाहरूलाई प्रहरीले मुख थुनेर बोल्न नदिएको विषयमा सरकारसँग एमालेकी सांसद विमला राईले मागिन् जवाफ
काठमाण्डौं, ८ चैत । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मङ्गलवार (हिजो) केही युवाहरूलाई प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन् ।
मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा उहाँविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजीलगत्तै प्रहरीले युवाहरूको मुख थुनेर बोल्न नदिई उनीहरूलाई पक्राउ गरेको थियो । त्यही विषयमा आज (बुधवार) सांसद पौड्यालले यसबारेमा सरकारको जवाफ माग गरेकी हुन् ।
राष्ट्रिय सभा सदस्य पौड्यालले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोजेकी हुन् । उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन भन्दै प्रश्न पनि गरिन् ।
उनले भनिन्, ‘हिजोदेखि सञ्चार जगत् र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीले जबरजस्ती उनीहरूको मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको छ । लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौँ । ती युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु ।’
मङ्गलवार एक सार्वजनिक कार्यक्रममा युवाहरूले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेका थिए ।
क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking
प्रतिक्रिया