Techie IT
  • १ साउन २०८१, मंगलबार
Jhilko

बामदेव गौतमविरुद्धको रिटमा सुनुवाइ हुँदै


काठमाडौं, १३ वैशाख । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

तत्कालीन उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए । आज कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो ।

प्रतिनिधि सभामा पराजित गौतम २०७७ साल भदौमा राष्ट्रिय सभा सदस्यमा मनोनयन भएका थिए । निर्वाचनमा पराजित व्यक्तिलाई त्यही कार्यकालमा मनोनयन गर्न नहुने भनी सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन परेको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सभा सचिवालय, नेपाल कम्युनिष्ट पार्टी र बामदेव गौतमलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

त्यस्तै अधिवक्ता भट्टले राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने पद सक्रिय राजनीतिमा रहेका र चुनावमा पराजित भएकालाई ल्याउनका लागि नभएको भन्दै गौतमको नियुक्ति बदर गर्न माग गरेका छन् । रिटमा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति उक्त प्रतिनिधि सभाको कार्यकालभर मन्त्री नियुक्त हुन नसक्ने संविधानको धारा ७८ (४) को व्यवस्था उल्लेख गर्दै मन्त्री बनाएमा संविधान उल्लङ्घन हुने जिकिर गरिएको छ ।

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गौतम बर्दिया १ बाट पराजित भएका थिए । तर नेपाल कम्युनिष्ट पार्टीको सचिवालय समितिको निर्णयका आधारमा सरकारले राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्य पदका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको थियो । त्यसपछि भदौ २९ गते राष्ट्रिय सभा सदस्य पदमा गौतम मनोनीत भएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट