Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

राष्ट्रपतिले अरू के के त्याग गर्छन्?


धर्मेन्द्र कर्ण

उहिले त्रेताका राजा रामचन्द्रले धोबीको आलोचना सहन गर्न नसकी मर्यादा बसाल्न पत्नी सीतालाई त्याग गरेकोका थिए । अहिले नेपालमा राष्ट्रपति रामचन्द्रले भारतमा गराएको स्वास्थ्य उपचार खर्च आफै तिर्ने भनेर सरकारी उपचार खर्च त्याग गरेका छन् । आफूले नेतृत्व गरेको पार्टीका युवा नेताको सल्लाहमा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो निर्णय गरेका हुन् ।

चौतर्फी बधाई सुरु हुने छ । विशेष गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाका समर्थकहरूले बधाई दिन पक्कै सुरु गर्नेछन् । थापाले नै उनलाई आफ्नो खर्च आफ्नो खल्तीबाट तिर्न सार्वजनिकरूपमा सल्लाह दिएका थिए ।

सरकारले राष्ट्रपतिलाई खान बस्न पनि दिएको छ । खान बस्न मात्रै होइन् , हिँडडुल गर्न उच्चकोटिका गाडी पनि दिएको छ । गाडी चालक पनि दिएको छ । सुरक्षाकर्मी पनि दिएको छ ।सल्लाहकारहरूको टोली दिएको छ ।सहयोगीहरूको समूह दिएको छ ।आदि इत्यादि खर्च दिएको छ । उनको छिमेक तथा मित्र देशहरूमा राजकीय भ्रमण भए । त्यसमा उनको टोली साथमा हुनेछ । त्यसको खर्च होला । त्यो सरकारले नै तिर्नेछ । आदि इत्यादि खर्च होला । त्यो खर्च सरकारले तिर्नेछ ।

कार्यकारिणी अधिकार नभएको राष्ट्रपति संविधान बनाइएपनि कार्यकारिणी अधिकार प्रयोग गरिएको दृष्टान्त हामी कहाँ छ । कार्यकारिणी अधिकार नभएपनि देश प्रमुखको हैसियतमा छिमेक तथा मित्र देशहरूको भ्रमणबाट कूटनीतिक सम्बन्धको विस्तार गर्न संवैधानिक राष्ट्रपतिको राजकीय भ्रमणलाई अनुचित मानिदैन् । त्यसमा पनि राजनीति गरेर आएका व्यक्ति राष्ट्रपति बनेको खण्डमा त्यस्ता राष्ट्रपतिको राजकीय भ्रमणबाट कूटनीतिक सम्बन्धबाट आर्थिक सम्बन्धको विस्तारमा सहयोग मिल्ने गरेको छ ।
अहिले अन्तर्राष्ट्रिय राजनीतिमा परिवर्तनका प्रयास भइरहेका छन् । अमेरिकी वर्चस्वको एकल विश्वप्रणालीलाई चुनौती मिलिरहेको अमेरिकी अधिकारीहरूले नै स्वीकार गरिरहेका छन् ।

बहुध्रवीय प्रणालीसहितको अन्तर्राष्ट्रिय प्रणाली तर्फ अन्तर्राष्ट्रिय राजनीति बदलिरहेको छ । नयाँ बहुध्रुवीय प्रणालीका प्रमुख देशहरू चीन र भारत नेपालका आसन्न छिमेकीहरू भएकाले नेपालको भूराजनीतिक हैसियत बढेर गएको छ । आगामी पाँच वर्ष यो नयाँ विश्व प्रणालीको संक्रमण महत्वपूर्ण भएकाले यस्ता कूटनीतिक महत्वको राजकीय भ्रमणहरूको सम्भावना बढ्ने छ । संक्रमणको दुवै अवस्थामा भूराजनीतिक महत्व बढ्ने नै छ । त्यतिखेर देश गरिब छ । अर्थतन्त्र कमजोर छ । राष्ट्रपतिले यस्ता भ्रमण गर्न सकिँदैन् भनेर कुनै पर्राष्ट्रका शाखा अधिकृतलाई पठाएर काम गराउने सुझाउ आउन सक्छ ।

राष्ट्रपति त्यसमा पनि समाजवादी देशहरूसँगको सम्बन्ध भएको नेपाली कांग्रेसका नेताको हैसियतले अनुभव सँगालेका राष्ट्रपति रामचन्द्र पौडेलको महत्व र क्षमता पर्राष्ट्रका शाखाका अधिकृतबाट त के परराष्ट्र सचिवसम्मलाई हुँदैन् । कहिलेकाहीँ कुनै विशेष परराष्ट्र पदाधिकारीको भूमिकाबाट महत्वपूर्ण कूटनीतिक फाइदा अपेक्षा गरिए भन्दा बढी हुनु फरक कुरो हुने भयो । नभए कर्मचारीस्तरको कूटनीतिक महत्व कर्मचारीस्तरकै हुन्छ ।

यी परिदृश्य नबने पनि सामान्य अवस्थामा देश प्रमुखहरूको राजकीय भ्रमण हुने गर्छ । यस्तो खर्च सरकारले बेहोर्ने होला कि राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै खल्तीबाट बेहोर्ने हो ।
उहिलेका राजा रामचन्द्रको त्यो त्याग देश र समाजका लागि मर्यादा बनेको भएपनि त्यो अहिलेको समाजका लागि पाच्य छैन् । ठिक त्यसैगरी समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार खर्च आफ्नै खल्तीबाट बेहोर्ने भनी गरेको त्याग सही हुने छैन् । पाखण्ड नै ठहरिने छ । गगन थापा जस्ता नेताका लागि पाखण्डपूर्ण अभिव्यक्ति राजनीतिक लोकप्रियताका लागि उपाय बन्न सक्ने छन् । तर समृद्धिको बाटोमा देशलाई बढाउनुपर्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उद्देश्य पूरा गर्न यस्ता पाखण्डपूर्ण अभिव्यक्तिको कुनै काम छैन् । न त यस्ता व्यवहारबाट नै । कि त नेपाली कांग्रेसका पूर्व नेता रामचन्द्र पौडेलले आगामी पाँच वर्षसम्म लाग्ने सबै खर्च बेहोर्नु पर्छ । नभए यो पाखण्ड नै ठहरिनेछ ।

अर्कोतर्फ लाखको भैंसी साठी हजारमा चुनाव लडी उपराष्ट्रपति भएका रामसहाय यादव कदाचित बिरामी भए यस्तो अवस्थामा उनको घरको खसीपाठी खेतबारी बेच्नुपर्ने हुन्छ । राष्ट्रपतिले त्याग गरेर सरकारी उपचार खर्च त्याग गरेको देखेर उपराष्ट्रपतिमा आउने स्वाभाविक त्याग गर्ने चेतले त्यसै गर भन्दैन र ?

अर्कोतर्फ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सबै आम मानिस होइनन् र ? अहिलेसम्मको परम्परा र राजकीय कानुनको छिद्रबाट कमाएको सम्पत्तिको विरासत बोक्ने धनी भएकाहरू बाहेक देशका सबै आम मानिस भएका होइनन् र ? उनीहरू धनी हुन पुगेका हुन् भनी गर्व गर्ने बाहेक सबै आम मानिस होइनन् र ? राजनीतिमा लाग्नेहरूले जनताका लागि दृष्टान्त हुनुपर्छ । नैतिकवान बन्नुपर्छ । तर यस्तो नैतिकताको कुनै काम छैन जसको सामाजिक मूल्य हात लागी शून्य हुनेछ ।

सरकारले सबैको गाँस, बास ,कपास , शिक्षा र स्वास्थ्यको ग्यारन्टी सबै जनताका लागि सुव्यस्थित गर्नुपर्ने जिम्मेवारी दिएर जनताले आफ्ना प्रतिनिधिलाई जिताएर पठाउने गरेका छैनन् र ?

अर्थतन्त्र कमजोर छ । कमजोर अर्थतन्त्र बलियो बनाउन राष्ट्रपतिका अन्य सबै खर्चबाट भारतमा गरिएको उपचार खर्चको त्यागले मात्र भरथेग गर्छ र ?

राजनीतिक दल र तिनका नेताले सबै जनताका लागि समानरूपले आवश्यक न्यूनतम आवश्यकता पूरा गर्ने प्रणालीको विकास गर्ने हो । नीतिगत कानुनी विकास गर्ने हो । सामाजिक सुरक्षा भत्ता जनतामा बाँड्ने बेला बजेटले नथेग्ने भन्ने नेताले यस्तो प्रणालीको विकास गर्ने विश्वास जनताले गर्न सक्छन् र?

नेतालाई जनताले नखाउ भनेको हैन । भुँडी फुलाएर नखाउ भनेको हो । सेवासुविधा नलेउ भनेको होइन् । जनतालाई पनि समयमै सेवा सुविधा उपलब्ध गराउ भनेको हो । कमजोर अर्थतन्त्रलाई बलियो बनाउन भनेको हो । आवश्यक खर्च घटाएर होइन् । अवस्था परिवर्तन गरेर । आम्दानी बढाएर । खर्च गरेर हो । भ्रष्टाचार नगरेर र भ्रष्टलाई आश्रय नदिएर अर्थतन्त्र बलियो बनाउ भनेको हो । राष्ट्रपतिभवनका राष्ट्रपति रामचन्द्र पौडेलदेखि धनुषाको मुसहरनियाका माझी रामचन्द्र महराको खर्च सरकारले तिर्ने बनाउ भनेको हो । राष्ट्रपतिको उपचार गराउन त आफ्नै खल्तीबाट तिर्न लगाइयो तपाईाका लागि के गर्न सकिएला भनेर आम जनताका अगाडि निरीह हुनलाई जनताले नेता छान्ने होइन् । हात लागी शून्य हुने पाखण्ड गर्नलाई होइन् ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट