Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

छिनोफानो नभएकाे मुद्दा : भोटो देखाउने जात्रा


  • लाेकनारायण सुबेदी

हाम्रो देश नेपाललाई जात्रा र पर्वहरुको देश पनि भन्ने गरिन्छ । प्राचीन समयदेखिनै नेपालमा बिबिध जात जातिले बसोबास गर्दै आएकोले नै यो सास्कृतिक बिबिधता बिकसित भएको हो भन्ने कुरा पनि त्यत्तिकै प्रष्ट छ । त्यसैले सबै जात जातिका भाषा, सँस्कृति, रीति-रिवाज र चालचलनको संरक्षण, सम्बर्द्धन  र बिकास गरिनु पर्ने आवश्यकता औल्याइने गरिएको हो । भोटो देखाउने जात्रा पनि त्यस्तै किसिमको एउटा साँस्कृति जात्रा रहँदै आएको  छ ।

 लोक कथा अनुसार काठमाण्डौको टौदहका नागराज कर्कोटकले आफ्नी नागिनीको आँखाको रोग निको पार्ने किसान बैद्यलाई खुशी भएर उपहार स्वरुप दिइएको मणिमाणिक्य आदि रत्न पत्थर जडित भोटो अर्थात् भित्री गञ्जी ती बैद्य किसानले फुकालेर आलीमा राखी धानरोप्ने  काममा ब्यस्त भएको बेला चोरी भयो । पछि मच्छिन्द्र नाथको जात्रा हेर्न भेला भएका मानिसहरुको बीचमा एउटा भूतले त्यो भोटो लगाएर उभ्भिएको देखेपछि किसानले त्यो नागराजले उपहार स्वरुप दिएको भोटो चिने र त्यो भोटो फिर्ता गर्न भूतलाई भने । तर भूतले पाएको त्यस्तो दामी भोटो दाबी गर्दैमा किन देओस्, दिएन । अनि किसान र भूतका बीच भोटो खोसाखोस चल्यो । कोहीभन्दा कोही कम थिएन । केही नलागेपछि किसानले त्यो भोटो आफुले नागराजबाट पाएको र खेतमा काम गर्दै गर्दा हराएको भनेर राजाकहाँ उजुरी गरे ।

लिच्छवी राजा गुणकामदेवले दुबै पक्षका कुरा सुने । तर कुनै पनि पक्षको कुराको प्रमाण पुगेन । यसरी पर्याप्त प्रमाणको अभावमा सही निर्णयमा पुग्न नसकिने भए पछि त्यो भोटो भूतको कि किसानको भन्ने निर्णय गर्न सकेनन् । त्यसैले गुणकामदेवले किसान र भूत दुबैलाइ त्यो भोटो आफ्नो हो भन्ने दावी प्रमाणित गर्ने थप प्रमाण ल्याउन नसकेसम्म त्यो भोटो मच्छेन्द्रनाथको जिम्मामा राख्ने निर्णय गरे । अनि प्रत्येक बर्ष मच्छेन्द्रनाथको रथ यात्राको अन्तिम दिन त्यो भोटो आफ्नो भनेर दावी गर्ने प्रमाण कसैले ल्यायो कि भनेर भोटो देखाउने गरिदै आएका छ । कालान्तरमा त्यो भोटो देखाउने जात्राकोरुपमा प्रचलित भयो । फलतः याे नछिनिएको मुद्दाको जात्राकोरुपमा परिणत भयो र अहिलेसम्म चल्दै आएको  छ ।

रत्न जडित कालोरंगको त्यो ऐतिहासिक भोटोको कत्तिको महत्व छ र त्यसको ऐतिहासिकताले आजको नेपाली समाजमा के कस्तो महत्व राख्दछ भन्ने कुरा हाम्रा समाजशास्त्री, मानबशास्त्री, सँस्कृतिबिद् र इतिहासबिद्हरुले औंल्याउने कुरा भयो । यद्यपि के कुरा प्रष्ट छ भने त्यो महत्वपूर्ण भोटो मछिन्द्रनाथकै जिम्मामा छ र त्यसलाई गुठीका अधिकारीहरुले राज्यका प्रमुख अतिथिका अगाडि सील तोडेर निकाली जात्रामा भेला भएका सबैलाई घुमी घुमी तीन पटक देखाइसकेपछि प्रमुख अतिथिकै अगाडि सील बन्द गरी अर्को बर्षदेखाउन सुरक्षित राख्ने गर्दछन् ।

नेपाली किसानसँग जोडिएको यो भोटो जात्रको अर्को कथा पनि छ । त्यो के भने त्यतिबेला १२ बर्षम्म पानी नपरेर खडेरी लागे पछि बालीनाली उत्पादन भएन । ठूलो दुर्भिक्षको स्थिति खडा भयो । त्यो समस्याको समाधान गर्ने उपायको खोजी गर्ने क्रममा बर्षा र बालीनालीका देबताको रुपमा चिनिएका मच्छेन्द्रनाथलाई भारतबाट झिकाएर उनको पूजा आराधना गरिएपछि खडेरी हटेर बर्षा भएको र बालीनाली सप्रिएको तथा अनिकालबाट जनता जोगिएको भन्ने किम्बदन्ती पनि रहेको छ ।  यसरी लामो खडेरीपछि बर्षा भएको र बालीनाली सप्रिएको खुशियालीमा मच्छिन्द्रनाथलाई रथमा चढाएर शहर परिक्रमा गराउने प्रथा चलेको देखिन्छ ।

त्यसैले पुराना चाड पर्व र जात्राहरुको पछाडि बस्तुगतरुपमा के कुरा लुकेको छ त्यसलाई बुभझ्न र केलाउन सक्यो भने आजको सन्दर्भमा पनि तिनको उपादेयतालाई जोड्न सकिन्छ । अन्यथा ती कुरा कर्मकाण्डीय मात्र भएर रहन जानेछन् ।  नेपालको रथजात्रा मध्येको सबैभन्दा लामो समयसम्म चल्ने यो रथयात्रा र ब्यवस्थित र सन्तुलित ढंगले बनाइएको  सबैभन्दा अग्लो रथ घुमाउने कुराले समेत यसको निकै ठूलो महत्व छ भन्ने कुरा झल्किन्छ ।  यद्यपि इतिहासकारहरु भने यो भोटो जात्राको कुरा र मच्छिन्द्रनाथ, मिननाथको रथयात्रा तथा पूजाका सम्वन्धमा एकमत रहेको पाइदैन । यसको एउटा उल्लेखनीय पक्षक के छ भने  मच्छिन्द्रनाथको रथयात्राको बेला ब्राह्मणबाट स्वस्ति शान्ति र गौदान गरिन्छ भने बज्राचार्यबाट हवन तथा शाक्यद्वारा पूजाअर्चन गर्ने गरिन्छ । यसरी यहाँ तीनथरी धर्माबलम्बीको समन्वयकारी भूमिका देखिन्छ । यसले  पनि आजको हाम्रो बिग्रहमा धकेलिन थालेको समाजमा निकै ठूलो महत्व राख्दछ भन्ने लाग्दछ । इतिहासकाे सही, सत्य तथ्य खाेज अन्बेषण गराैं र यसकाे पुनर्निर्माण गराैं ।


क्याटेगोरी : बिचार, रोचक

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट