कांग्रेसले ‘कोशी’ प्रदेश नामकरणका लागि दिएको समर्थन फिर्ता लियो, माओवादी ‘कोशी’ प्रदेशकै पक्षमा

काठमाण्डौं, १७ फागुन । प्रदेश नम्बर १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेश नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । एमालेले दर्ता गरेको प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन्। कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले समर्थन फिर्ता लिए पनि कांग्रेसले कोशी प्रदेश नामकै पक्षमा मतदान गर्ने बताए ।
माओवादी केन्द्रले पनि कोशी प्रदेशकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्तरूपमा किरात–लिम्बुवान–सगरमाथा प्रदेश नामकरणका लागि प्रदेश सभा सचिवालयमा अर्को प्रस्ताव दर्ता गराएका छन् ।
यी दुई वटा प्रस्ताव सदनमा पेस हुनेछन् । छ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एसका चार र जसपाका एक जना सांसद छन् ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #breaking
प्रतिक्रिया