Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

आयुर्वेद औषधिमा ‘रेक्टिफाइड स्प्रिट’ को प्रयोग – कत्तिको सुरक्षित ?


काठमाडौं । नेपालमा आयुर्वेद औषधिको प्रयोग मल्लकालीन समयदेखि नै रही आएको पाइन्छ । आयुर्वेद औषधि रोग लागिसकेपछि रोग निको गर्न मात्र नभएर रोग लाग्नबाट बचाउनका निमित्त समेत प्रभावकारी छ र यसको न्यून साइड इफेक्टका कारण हालको दिनमा दीर्घकालीन रोगमा यसको प्रयोग अमेरिकी मुलुकमा समेत दिनप्रतिदिन बढिरहेको छ । नेपालको तुलनामा भारतमा आयुर्वेदको विकास अत्याधिक भएको देखिन्छ । आयुर्वेद औषधि सम्बन्धी हाल जति पनि सन्दर्भ ग्रन्थ, पुस्तक, जनशक्ति, उद्योग, व्यवसाय तथा औषधि सम्बन्धी हुनुपर्ने अनुसन्धान एवं नियमकानुन छन् ती सबै पक्षबाट भारत नै अगाडि छ र यिनकै अनुशरण नेपाललगायत अन्य देशमा छ ।

नेपालमा आयुर्वेद औषधिको उत्पादन तथा बिक्री वितरण जति सहज छ, त्यति सहज भारतमा छैन । नेपालमा त आयुर्वेद औषधिको नाममा जसले जे मन लाग्यो त्यही बनाएर छ्याप्छ्याप्ती बेचिरहेका भेटिन्छन् । यसमा रोकटोक गर्ने निकाय कमिसनमा रहेका हुन्छन् । आधिकारिक तवरले आयुर्वेद औषधि उद्योगका रुपमा दर्ता भएर सञ्चालनमा रहेका उद्योग समेत औषधि व्यवस्था विभाग (डीडीए) लाई मुखमा कमिसनका पोको थमाइ दिएर सिधा प्रयोग गर्न नमिल्ने कच्चा पदार्थको प्रयोग गरी औषधि बनाएर बिक्रीवितरण गरिरहेको निजी स्वामित्वमा रहेको आरोग्य भवनद्वारा उत्पादन हुँदै आएको नेपालको पहिलो आयुर्वेद औषधि उद्योगको प्रमुख उत्पादन कस्तुरी भुषणको अध्ययनले देखाएको छ ।

हालको परिप्रेक्षमा कस्तुरी भुषण नाम नसुनेका र प्रयोग नगरेका विरलै होलान । अझ भन्नुपर्दा बालबालिका विरामी हुने वित्तिकै कस्तुरी भुषण खोई भन्दै उपभोक्ताहरु एकअर्कालाई सोध्ने गर्दछन् । यसको प्रयोग श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित रोगमा एक महिनाको बच्चादेखि बृद्धअवस्थासम्म प्रयोग गर्न सकिने यस उद्योगका सञ्चालक तथा बजार प्रतिनिधिहरुको भनाइ छ । यसको प्रयोग सिधै पानीमा मिसाएर वा अन्य आयुर्वेद तथा एलोप्याथी खोकीका औषधिमा मिसाएर प्रयोग भइरहेका उदाहरणहरु पनि प्रशस्त भेटिने गर्दछन् । यसको लेबल र बट्टाको घटक द्रव्यमा हेर्ने हो भने प्रत्येक पाँच एमएलमा अल्कोहल चाहिने मात्रा जति भनेर लेखिएको स्पष्ट देखिन्छ । यसको बिर्को खोलेर सुँघ्ने हो भने धेरै रक्सीको मात्रा भएजस्तो गन्ध आउँछ र सिधै खाने हो भने नेट विस्की नै खाए जसरी घाँटीमा पोल्दै पेटसम्म पुग्छ । ३० एमएलसम्म नै खाइदिने हो भने त एक प्याक विस्की नै खाएजस्तो ट्रिप दिने धेरै उपभोक्ताहरुको भनाइ छ ।

आवश्यक मात्रा जति अल्कोहल भन्नाले यसमा कुन अल्कोहलको प्रयोग गरिएको होला र आवश्यक मात्रा भन्नाले कति प्रतिशतसम्म प्रयोग गरियो होला भन्ने प्रश्नको जवाफ बुझ्ने क्रममा प्रयोगशालामा यस औषधिको स्याम्पलमा अल्कोहलको मात्रा जाँच्दा ४० प्रतिशत अल्कोहल रहेको देखियो जुन एक सामान्य व्हिस्कीमा हुन्छ । कस्तुरी भुषण बनाउनकै निमित्त कच्चा पदार्थको रुपमा वर्षेनी १० हजार लिटरभन्दा माथिका ९६ प्रतिशत इथानोलयुक्त रेक्टिफाइड स्प्रिट अन्य डिस्टिलरी कम्पनीबाट खरीद गर्न सकिने सिफारिसपत्र डीडीए तथा आन्तरिक राजश्व कार्यालयले दिएको स्वीकृत पत्र भेटिएको छ । डीडीएले यति धेरै परिमाणमा रेक्टिफाइड स्प्रिटको सिफारिस गर्नुको कारण उक्त औषधिको उत्पादन अनुज्ञापत्रमै घटक द्रव्यको रुपमा प्रत्येक पाँच एमएल कस्तुरी भुषणमा रेक्टिफाइड स्प्रिट पाँच एमएल नै पर्ने भनी लेखिएको हुनाले रेक्टिफाइड स्प्रिटलाई उक्त औषधि बनाउन सिफारिस गर्न सकिने बुझिन्छ । कुनै एक औषधि उद्योगले कुनै प्रयोजनका निमित्त रेक्टिफाइड स्प्रिट खरीद गर्छ भने त्यो कसैको सरोकारको विषय हुनुहुँदैन तर सोही उद्योगले बच्चादेखि बृद्धसम्म प्रयोग गर्न सकिने औषधि बनाउन रेक्टिफाइड स्प्रिट सिधै हालेर ४० प्रतिशतसम्म अल्कोहल भएको औषधि बनाउँछ भने त्यो जनमानसमा सरोकारको विषय हुनुपर्छ ।

यस औषधिको बट्टा तथा लेबलमा प्रयोग मात्रा हेर्दा १० देखि ३० थोपासम्म १ चियाचम्चा मनतातो पानीसँग सेवन गर्नु भनी लेखिएको देख्न सकिन्छ । ‘१ चिया चम्चामा ५ एमएल हुन्छ र २४ थोपा बराबर १ एमएल हुन्छ । यस हिसाबले ४० प्रतिशत अल्कोहोल भएको १० थोपा कस्तुरी भुषण १ चिया चम्चामा मिसाउँदा उक्त घोलमा ३ प्रतिशत अल्कोहोलको मात्रा हुन्छ भने ३० थोपा कस्तुरी भुषण १ चिया चम्चामा मिसाउँदा उक्त घोलमा ९ प्रतिशत अल्कोहोलको मात्रा हुन्छ’ यस्तो हिसाब आजको दिनमा १२ कक्षामा विज्ञान संकायमा अध्ययनरत एक सामान्य विद्यार्थीले गर्नसक्ने हिसाब हो । कस्तुरी भुषणको प्रयोग मात्रा १० देखि ३० थोपा हुँदा अल्कोहलको मात्रा ३ देखि ९ प्रतिशतसम्म हुनु एक महिनाको बच्चा र चिनी रोग लागेका व्यक्तिमा सुरक्षित हो वा होइन ? यसलाई दैनिकरुपमा महिनौंसम्म खान दिँदा कलेजो वा अन्य भागमा साइड इफेक्ट गर्छ वा गर्दैन ? यस सम्बन्धी कुनै अनुसन्धान भएको छ वा छैन ? डीडीएले यस औषधिको सुरक्षितता सम्बन्धी कुनै प्रतिवेदन लिएको छ वा छैन ? औषधिमा कच्चा पदार्थको रुपमा रेक्टिफाइड स्प्रिट कत्तिको सुरक्षित हो र यसको प्रयोग गर्न मिल्ने वा नमिल्ने ? औषधिको यी सम्पूर्ण सुरक्षितता सम्बन्धी प्रश्नको जवाफ दिनु डीडीएको जिम्मेवारी हो । आजको समय इन्टरनेटको समय छ, स्वास्थ्य सम्बन्धी सतर्क रहने जो कोही व्यक्तिले आज औषधि सेवन गर्नु अघि इन्टरनेटमा उक्त औषधि सम्बन्धी सम्पूर्ण जानकारी खोज्छन् र सुरक्षित देखिएमा मात्र सेवन गर्छन् । अल्कोहल वा रेक्टिफाइड स्प्रिट युक्त औषधिको सुरक्षितता सम्बन्धी नेपालमा पनि विभिन्न अनुसन्धात्मक प्रयास भइदिए ढुक्कसाथ प्रयोग गर्न सहज हुने थियो ।


क्याटेगोरी : बिचार, समाचार, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट