अमेरिकी विदेशमन्त्री ब्लिन्केन र चिनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता : चीन र अमेरिकाको सफलता एकअर्काका लागि खतराको सट्टा अवसर

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । अमेरिका–चीनको यो भेटलाई संसारभरबाट महत्त्वका साथ हेरिएको छ ।
‘ग्रेट हल अफ द पिपुल’ मा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले चीन–अमेरिकामात्र नभई विश्वभरकै अवस्थालाई सामान्य बनाउन दुई देशबीचको सम्बन्ध सुधार हुनुपर्ने बताएका छन् । राष्ट्रपति सीले अमेरिकीहरू जस्तै चिनियाँहरू पनि सम्मानित, आत्मविश्वासी र आत्मनिर्भर रहेकाले दुवै देशका नागरिकलाई सम्मानित जीवन जिउने अधिकार रहेको बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
दुवै देशले साझा हितलाई महत्त्व दिनुपर्ने भन्दै सीले चीन र अमेरिकाको सफलता एकअर्काका लागि खतराको सट्टा अवसर भएको उल्लेख गरे । चीन र अमेरिकाको राम्रो सम्बन्धले विश्वशान्ति र विकासमा योगदान पुर्याउने भन्दै दुवै देश रचनात्मक बन्नुपर्ने सीको भनाइ छ । चीनले अमेरिकाको सधैँ सम्मान गरेको र अमेरिकाले पनि चीनको वैध अधिकारमा हस्तक्षेप गर्न नहुने चिनियाँ राष्ट्रपति सीले बताएको खवरमा उल्लेख छ ।
भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले चिनियाँ राष्ट्रपति सीको कुरामा समर्थन जनाउँदै दुई देशको सम्बन्ध सुधारमा जोड दिएका छन् । ब्लिन्केन पछिल्लो पाँच वर्षमा चीन भ्रमण गर्ने सबैभन्दा उच्च तहका अमेरिकी कुटनीतिज्ञ हुन्।
पूर्वनिर्धारित तालिकामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता उल्लेख थिएन तर पछि यो भेट तय गरिएको थियो । राष्ट्रपति सीसँगको भेटअघि ब्लिन्केनले चिनियाँ समकक्षीसँग छ घण्टा लामो वार्ता गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking
प्रतिक्रिया