आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १८ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत आज नेपालले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र युएईबीचको खेल बिहिबार बिहान ११ः४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू हुनेछ।
दुवै टिमले अहिलेसम्म समान २९–२९ खेल खेलिसकेका छन्। सन् २०१९ देखि सुरू भएको विश्वकप लिग टुको अंक तालिकामा युएई पाँचौं र नेपाल छैटौं स्थानमा छन्। आज नेपालले युएईलाई हराएमा तालिकामा पनि पछि पार्नेछ। साथै लागातार ६ खेलमा जितकी कीर्तिमानसमेत बनाउनेछ। यो अंक तालिकाको शीर्ष ५ भित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिनेछ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिने प्रयासमा हुनेछ। यसअघि युएई सिरिजको पहिलो खेलमा पपुवान्यूगिनीलाई हराएको नेपालले काठमाडौंमा भएका सिरिजका ४ वटै खेलमा जित निकालेको थियो।
यता, युएई भने नेपालसँगको खेलअघि पीएनजीसँग १३१ रनले पराजित भएको थियो। पपुवा न्युगिनीसँगको फराकिलो हारले युएईलाई थप दबाब छ। यदि आज नेपालसँग पराजित भएमा उसको ओडिआई मान्यतासमेत जोखिममा पर्नेछ। शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न युएईले पनि अब ७ मध्ये ६ खेल जित्नुपर्ने हुन्छ। शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन कम्तिमा ४ खेलमा जित्न आवश्यक छ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #cricket
प्रतिक्रिया