सुक्खा पहिरोका कारण बन्द डुम्रे–बेसीसहर सडक खण्ड सञ्चालनमा

लमजुङ । सुक्खा पहिरोले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेसीसहर सडक खण्ड पुनः सञ्चालनमा आएको छ । यो सडकअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको सुक्खा पहिरो हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो ।
गएको भदौ महिनामा पहिरोले पक्की सडक भत्काएपछि यस ठाउँमा वैकल्पिक सडक निर्माण गरिएको थियो । तर, ढुङ्गा माटो झरेर पटक पटक यो सडक पनि बन्द हुँदै आएको छ ।
माथिबाट झरेको ढुङ्गा माटो डुम्रे बेसीसहर चामे योजना सडक कार्यालय लमजुङको डोजरले हटाएपछि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।
सडक बन्द हुँदा बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र यस ठाउँबाट बेसीसहर आउने गाडी बाटोमै रोकिएका थिए। बयालीस किलोमिटर लामो डुम्रे बेसीसहर सडक खण्ड अन्तर्गत यस ठाउँमा पटक पटक पहिरो खस्दा गाडी आवतजावत बन्द हुने गरेको छ ।
यस ठाउँमा पहिरोको दीर्घकालीन रोकथामका लागि २० करोड रुपैयाँमा ठेक्कासमेत आह्वान गरिएको डुम्रे बेसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया