Techie IT
  • १२ वैशाख २०८१, बुधबार
Jhilko

हुम्लामा हेलिकोप्टरबाट नुन ढुवानी


सुर्खेत, २४ फागुन । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले बताए ।

कैलाश एयरको हेलिकोप्टरबाट अनुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको छ। नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानीको काम सुरु भएको हो ।

हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुण्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ । हेलिकोप्टरभित्र राख्नभन्दा झुण्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको छ ।

चालु आर्थिक वर्षको दुई हजार दुई सय क्विन्टल नुन फागुन महिनामा आएर हेलिकोप्टरबाट ढुवानी सुरु छ। खार्पुनाथ गाउँपालिकाका पाँच वटा वडामै हेलिकोप्टरबाटै ढुवानी गरिएको छ । प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्‍याएको उनले बताए ।

यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीय छुटकारा पाएका छन् । गाउँपालिकाका लागि साढे सात सय क्विन्टल नुन ओसार्ने कार्य भएको छ भने सिमकोटस्थित शाखाका लागि हेलिकोप्टरले ढुवानी गरिरहेको छ ।

हुम्ला जिल्लामा आयोडिनयुक्त नुनको प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुने गरेको छ । यस्तै हवाई मार्गबाट समेत हुम्लामा नुन ढुवानीको काम भइरहेको छ ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट