Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि नै सुरु गर्ने तयारी


काठमाडौं । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ ।

कार्यालयमा सधैं कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाइनमा हुने गरेकाले भिड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाइनम बस्नु नपर्ने र उनीहरूले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । उनले भने, ‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् । आउँछन् र खुरुखुरु जान सक्छन् ।’

बिहानदेखि सेवा सुरु गर्नेबारेमा अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान ६ बजेदेखि लाइनमा बस्ने गरेका उनले बताए । सेवाग्राहीलाई बुझाउन नसकिएकोले १० बजेसम्म दुई सय जना लाइनमा बस्ने उनले बताए । प्रमुख कपालीले भने, ‘ताला लगाए पनि बाहिरैबाट लाइन हुने गरेको छ ।’

कार्यालयले दैनिक तीनदेखि साढे तीन सय वटा टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको, जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए । उनले भने, ‘समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ ।’

कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए । सेवाग्राहीको भिड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ । उनले भने, ‘३ बजेपछि कार्यालय नै सुनसान हुन्छ ।’

यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भिड बढी हुने कार्यालयका रूपमा रहेको छ । पहिले सङ्घीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ । कार्यालयहरूले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाइनमा बस्नु परेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट