Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

किरण बज्राचार्य बन्लिन त पहिलो महिला आईजी ?


शंकर तिमल्सिना

काठमाडौं । अबको दुई सातामा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अवकाश पाउँदैछन् । यसै हप्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका पाँच जनामध्ये एक जना प्रहरी महानिरीक्षक (आईजी) मा नियुक्त हुँदैछन् ।

गृह मन्त्रालयले शुक्रवार डीआईजीहरू वसन्तबहादुर कुँवर, किरण बज्राचार्य, टेकप्रसाद राई, दीपक थापा र श्याम ज्ञवालीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

यसमध्ये किरण बज्राचार्यले महिला आईजीका रूपमा इतिहास बनाउन सक्ने अनुमान धेरैले गरेका छन् । प्रहरी नियमावली २०७१ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई एआईजीबाट आईजी बनाउन सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर बज्राचार्यलाई आईजी बनाइनुपर्ने माग धेरैतिरबाट उठेको छ ।

यसअघि डीआईजी पार्वती थापा पहिलो एआईजी बन्ने सम्भावनालाई तुहाइएको थियो । उनीभन्दा कनिष्ठ उपेन्द्रकान्त अर्याललाई बढुवा गरेपछि थापा अदालत गइन् । तर, न्याय पाइनन् । पछि उनले अवकाश लिइन् ।

यतिबेला नेपाल प्रहरीमा किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राणासहित चारजना डीआईजी छन् । त्यसमध्ये बज्राचार्यमात्र एआईजी बढुवा सिफारिसमा परेकी हुन् । यसअघि पूजा सिंह एआईजी भएर पनि आईजी बन्न पाइनन् ।

बज्राचार्यले ललितपुर, भक्तपुर जस्ता जिल्लाको सुरक्षा कमान्ड, इन्टरपोल विभाग, वाग्मती प्रदेश प्रहरी प्रमुख जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी छिन ।

कुल ७५ हजार जनशक्तिमध्ये नौ हजारको हाराहारीमा मात्र महिला प्रहरी छन् । यसरी नेपाल प्रहरीमा मुस्किलले ११ प्रतिशत महिला प्रतिनिधित्व छ। अझ उच्चतहमा त निकै कम संख्या छ ।

वरिष्ठता र बढुवामा प्राप्त अङ्क हेर्दा एआईजीमा सिफारिस भएका डीआईजीहरूबीच एक नम्बरको मात्र तलमाथि छ । त्यो भनेको बराबरी जस्तै हो । सबैभन्दा बढी वसन्त कुँवरको ६९ दशमलव ७३ छ भने बज्राचार्यको ६८ दशमलव ४८ छ। अरु तीनको पनि यही वरपर छ ।

यसैले प्रहरी संगठनमा महिलालाई आईजी बनाएर समावेशी चरित्र सिद्ध गर्ने यो एक अवसर जस्तै हो, सरकारका लागि । माओवादी केन्द्रकी नेतृ एवं वाग्मती प्रदेशकी पूर्व सांसद सीता अधिकारी समावेशी आन्दोलनको मुख्य शक्ति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं प्रधानमन्त्री एवम् गृहमन्त्री भएको बेला प्रहरी संगठनमा पनि त्यसको प्रतिविम्ब देखिनुपर्ने बताउँछिन् ।

अधिकारी भन्छिन्– ‘पुरुषसँग तीब्र प्रतिस्पर्धा गरेर, कुममा कुम जोडेर प्रतिस्पर्धामा आएकी उच्च महिला अधिकारीलाई प्रहरी संगठनको प्रमुख बनाउँदा न्याय नै हुन्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट