Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पीएनजीमाथि नेपालको नौ विकेटको कीर्तिमानी जित


काठमाडौं, २९ फागुन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम त्रिदेशीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) माथि नौ विकेटको कीर्तिमानी जित निकालेको छ । एकदिवसीय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा नेपालले निकालेको यो अहिलेसम्मको फराकिलो जित हो ।

यसअघि नेपालले सन् २०२० को फेब्रुअरी १२ मा त्रिवि क्रिकेट मैदानमा नै अमेरिकामाथि आठ विकेटको जित निकालेको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालले निकालेको यो नै अहिलेसम्मको फराकिलो जित थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले ७।४ ओभरमा एक विकेट गुमाएर भेट्टायो । त्यसअघि बलिङमा नेपाली टिमका स्पिनर हावी बन्दा टस हारेर ब्याटिङमा आएको पीएनजी ३२ ओभरमा ९५ रनमै समेटिएको थियो ।

नेपालको जितमा आक्रामक रूपमा प्रस्तुत भएका ओपनर आसिफ शेखले २१ बलमा आठ चौका र तीन छक्कासहित ५१ रन बनाए । कुशल मल्लले १४ बलमा चार चौका र दुई छक्का प्रहार गरे । यस्तै, कुशल मल्ल १२ रनमा अविजित रहे । पीएनजीका चाड सोपरले एक विकेट लिए ।

पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले एक मेडनसहित २५ रन खर्चिए । सन्दीपले एकदिवसीय क्रिकेटमा तेस्रो पटक एकै खेलमा पाँच विकेट लिएका हुन् ।

ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले समान एक विकेट लिए । पीएनजीका कप्तान असद भालाले २० रन बनाए । सेसे बाउले १८, चार्ल्स एमिनीले १६ र हिरी हिरीले १४ रन जोडे । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

घरेलु मैदानमा जारी शृंखलामा नेपालले यसअघिका दुवै खेलमा जित निकालेको थियो । नेपालले शृंखलाको पहिलो खेलमा पीएनजीलाई ५२ रनले र दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० लाई १७७ रनले पराजित गरेको थियो । नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो सात खेलयता अपराजित छ ।

लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई अब शृङ्खलाको अन्तिम खेलमा जितको आवश्यकता छ । यसअघि नेपालले आइतबार यूएईलाई पराजित गरेसँगै एकदिवसीय मान्यता भने आगामी चार वर्षका लागि सुनिश्चित गरेको थियो ।

जितसँगै ३५ खेलबाट ३८ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको पीएनजीको भने एकदिवसीय मान्यता समेत गुमिसकेको छ । यस्तै, ३४ खेलबाट ३१ अंक जोडेको यूएई भने तालिकाको छैटौं स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट