Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल पत्रकार महासंघले आगामी चैतमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ गर्ने


काठमाडौं, २९ फागुन । नेपाल पत्रकार महासंघले आगामी चैतमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ गर्ने भएको छ । महासंघको आज काठमाडौस्थित केन्द्रीय कार्यालमा बसेको बैठकले आगामी चैत्र १६ गते ६८औं स्थापना दिवसलाई ‘विश्व शान्तिको मुहान’ लुम्बिनीमा विशेष कार्यक्रम गरी मनाउने निर्णयसमेत गरेको छ ।

राष्ट्रिय मिडिया सम्मेलनले महासंघको सदस्यता शुद्धीकरण, सञ्चार क्षेत्रको सबलीकरण लगायतका विषयमा निर्णय गर्ने महासचिव रोसन पुरीले जानकारी दिए । सम्मेलनमा सञ्चार क्षेत्रका विज्ञ, अर्थविद्, मिडियाको समग्र अनुसन्धानको क्षेत्रमा क्रियाशील, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष/महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुने जनाइएको छ ।

अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु उपस्थित थिए । बैठकले श्रमजीवी पत्रकारका समस्याका बारेमा पनि महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले हाल विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रमजीवी पत्रकारका समस्याका विषयलाई गम्भीर रूपमा लिई त्यसको समाधानका लागि कानुनी तथा दवाबमूलक संघर्षको कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको महासंघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । साथै, तत्काल पत्रकारको न्यूनतम पारिश्रमिक समयसापेक्ष बृद्धि गर्न पनि सरकारसँग माग गरिएको छ ।

हाल सञ्चारसम्बन्धी विभिन्न कानुनहरू निर्माण हुने क्रममा रहेकोप्रति बैठकले गम्भीर चासो लिई उक्त कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री निर्माण गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले अधिकार सम्पन्न छुट्टै प्रेस रजिष्ट्रार नियुक्ति गर्न आदेश दिइसकेको सन्दर्भमा बैठकले तत्काल छुट्टै प्रेस रजिष्ट्रारको कार्यालय गठन गरी प्रेस रजिष्ट्रार नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरू धरासायी हुँदै गएको सन्दर्भमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई तत्काल लागू गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #fnj

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट