दलितलाई महायज्ञ प्रवेशमा रोक लगाउने निर्णयपछि वीरगंजमा विरोध प्रदर्शन

वीरगंज । वीरगंजमा चैत ८ गतेदेखि सञ्चालन हुन गइरहेको महायज्ञमा दलित समुदायलाई प्रवेश नदिने निर्णय आयोजक समितिले गरेपछि वीरगंज १७ अलौंका चमार समुदाय आन्दोलित भएका छन्।
उनीहरुले आफ्नै गाउँमा हुन गइरहेको सामूहिक चण्डी महायज्ञको पूजापाठमा रोक लगाउने आयोजक समितिले निर्णय गरेपछि उनीहरुले वीरगंजमा प्रदर्शन गरेका हुन्।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा जातीय भेदभावसम्बन्धी उजुरी समेत दिएका छन्। अलौंका स्थानीय दलित समुदायले १५ दिन अघिदेखि नै महायज्ञको बेदीमा बस्न महायज्ञ आयोजन समितिले आश्वासन दिँदै आएको तर अहिलेसम्म अनुमति नदिएको बताएका छन् । पुजा गर्ने ठाउँमा बस्न पाउनुपर्ने आवाज उठाउँदा पनि बस्न नदिएको उनीहरुले बताए ।
जिल्ला प्रशासन कार्यालय पर्शाले प्रहरी कार्यालयलाई समस्या समाधानका लागि छलफल गर्न निर्देशन दिएको छ। त्यस्तै आयोजक समितिले चैत ८ गतेदेखि महायज्ञ हुने भएकाले छलफल गरी समस्या समाधान गर्ने जनाएको छ ।
यसैबीच अलौंका वडा अध्यक्ष सन्जुबहादुर छतकुलीले भने दलित समुदायलाई विभेद गरिएको भन्ने आरोप निराधार रहेको दाबी गरे।
क्याटेगोरी : समाचार
प्रतिक्रिया