Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग


काठमाडौं, १ चैत । काँग्रेस–एमालेसहितका किसान संघ, संगठनले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

बुधबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी नेपाल किसान महासंघ (काँग्रेस निकट), अखिल नेपाल किसान महासंघ (एमाले निकट) र नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन (राप्रपा निकट) ले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

पत्रकार सम्मेलनमा आफ्ना माग तत्काल सम्बोधन गराउन दबाव स्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउनेसहितका आन्दोलन घोषणा गरिएको छ।

किसानलाई दिइँदै आएको एक मात्रै अनुदान अविलम्ब फिर्ता गराउन चैत ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, देशभरका स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा। प्रेम दंगालले जानकारी दिए।

उनले किसानले राहत पाउनुपर्ने आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिए। अध्यक्ष दंगालले भने, ‘आज देशभर किसान संघ, संगठनहे आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। त्यसैले म अनुरोध र आग्रह गर्न चाहन्छु– नेपाल सरकारले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय पुनर्विचार गरियोस्।’

यही फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै आन्दोलन शुरु गरेका छन्।

पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ।


क्याटेगोरी : कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट