Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज प्रतिनिधि सभा बैठक बस्दै : सत्तापक्षको बेन्चमा बस्ने कांग्रेसको तयारी, एमाले प्रमुख प्रतिपक्षी


एमाले र माओवादी मिलेर सरकार गठन गरेपछि प्रतिपक्षी बेन्चमा बसेको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत भने दिएको थियो । यसबीचमा माओवादी र एमालेबीच भएको सहकार्य टुटिसकेको छ । फेरि माओवादीले कांग्रेसलगायतका दलसँग गठबन्धन गरेको छ ।

काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको संसद् बैठकमा नेपाली कांग्रेसले सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ । त्यस्तै एमाले भने प्रमुख प्रतिपक्ष दल हुन पुगेको छ । यसअघि पुस १० गते एमालेसँगको सहकार्यमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी बनेको थियो ।

एमाले र माओवादी मिलेर सरकार गठन गरेपछि प्रतिपक्षी बेन्चमा बसेको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत भने दिएको थियो । यसबीचमा माओवादी र एमालेबीच भएको सहकार्य टुटिसकेको छ । फेरि माओवादीले कांग्रेसलगायतका दलसँग गठबन्धन गरेको छ ।

गठबन्धनकै आडमा कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसक्नुभएको छ । आजको संसद् बैठकमा सत्ता पक्षमा बस्नुअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकले सत्ता पक्ष भएको औपचारिक निर्णय गर्ने बुझिएको छ ।

बैठकको निर्णय कांग्रेसले संसद् सचिवालयलाई जानकारी गराउने छ । त्यसपछि कांग्रेस सत्ता पक्षको बेन्चमा गएर बस्ने एक नेताले बताएका छन् । एमालेले सङ्घीय संसद् सचिवालयमा प्रतिपक्षी दलको माग गर्दै पत्र लेखिसकेको छ ।

नेपाल मजदुर किसान पार्टीले आफू प्रतिपक्षी दल भएको दाबी गरे पनि त्यो दाबी निष्क्रिय भएको छ । त्यसैले अब एमाले प्रतिपक्षी दल बन्ने निश्चित छ । सङ्घीय संसद् सचिवालयले पनि त्यहीअनुसारको तयारी गरेको जनाएको छ । दलहरुबाट प्राप्त पत्र अनुसार तयारी गरेको सचिवालयले जनाएको छ ।

यसैबीच आजको बैठकमा सत्ता साझेदार १० दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ पेस गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत १० दलका शीर्ष नेताहरुको बैठकले विधेयक संसद् बैठकमा पेस गर्ने र विधेयकको पक्षमा उभिने निर्णय गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #samsad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट