Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालको एक स्थान सुधार


काठमाडौं, ८ चैत । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको हो ।

नेपालले पछिल्लो एक महिनामा चार स्थान सुधार गरिसकेको छ । आईसीसी विश्वकप लिग–२ को पछिल्ला १२ खेलमा ११ खेल जितेपछि नेपालको वरीयतामा उल्लेख्य सुधार भएको हो । नेपाल यसअघि १६औं स्थानमा थियो ।

नेपालले हालै घरेलु मैदानमा सम्पन्न लिग–२ अन्तर्गत पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको त्रिदेशीय सिरिजमा क्लिन स्वीप गर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो । वरीयतामा नेपालभन्दा पछि ओमान १६ औं, नामिबिया १७औं, अमेरिका १८औं, युएई १९औं र पीएनजी २०औं स्थानमा छ ।

यसैगरी भारत शीर्षस्थानमा यथावत् छ । अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो, इङ्ल्यान्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलङ्का आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान १०औं स्थानमा छ ।

यस्तै आयरल्यान्ड ११औं, स्कटल्यान्ड १२औं, जिम्बावे १३औं र नेदरल्यान्ड्स १४औं स्थानमा छ । टी–२० वरीयतमा भने नेपाल १६औं स्थानमा यथावत् छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट